बनियानी (झापा) । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा दुई करोड ३० लाख रुपैयाँको लागतमा विद्युतीय शवदाह गृह निर्माण सम्पन्न भएको छ ।
कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र दाताको सहयोगमा बनेको शवदाह गृहमा प्रदेश सरकारको दुई करोड, नगरपालिकाको २० लाख र दाताको १० लाख लगानी गरिएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलका अनुसार शवदाह गृह सञ्चालनको कार्यविधि तयार भइसकेको छ र एक साताभित्र औपचारिक सञ्चालन गर्ने तयारी भइरहेको छ ।
निर्माण समितिका संयोजक गोपाल खरेलका अनुसार भारतीय प्राविधिक टोलीले निर्माण सम्पन्न गरी परीक्षणसमेत गरिसकेको छ । साउन २७ गते झापा गाउँपालिकाकी ८० वर्षीया हेमती राजवंशीको शव परीक्षणका क्रममा दहन गरिएको थियो ।
विद्युतीय शवदाह गृहबाट एउटा शव दहन गर्न करिब ५० मिनेट लाग्ने बताइएको छ । परम्परागत दाउरा प्रयोग गर्दा तीनदेखि साढे तीन घण्टा लाग्ने भएकाले नयाँ सुविधाले समय र खर्च दुवै बचत हुने जनाइएको छ । साथै वातावरण संरक्षणमा पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
विसं २०६७ मा स्थापना भएको कनकाई घाटमा हाल पाँचवटा चितास्थल सञ्चालनमा छन् ।




