काठमाडौं ।नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई विदेशमा शाखा खोल्न अनुमति दिनुपर्ने प्रस्ताव गरेका छन्।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले “बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)” को पुनर्लेखन आवश्यक रहेको बताए।
उनले भने, “बाफिया ड्राफ्ट दुई वर्षदेखि तयार अवस्थामा छ तर अहिलेको आर्थिक परिवेशमा धेरै परिवर्तन आइसकेको छ। यो विधेयकलाई नयाँ दृष्टिकोणबाट पुनः तयार पार्नुपर्छ।”
चौधरीले मलेसिया र अष्ट्रेलियाजस्ता नेपालीको बाक्लो बसोबास भएका मुलुकहरूमा नेपाली बैंकहरूले शाखा खोल्न पाउनुपर्ने तर्क गरे। “नेपाली पुँजी नेपाली बैंकमार्फत संकलन गर्न नपाउनु अन्याय हो,” उनले जोड दिए।
उनको भनाइमा, हाल देशको अर्थतन्त्र सुस्त छ र बैंकहरूमा रहेको रकम लगानी हुन सकेको छैन। बैंकहरूले लगानी गरे पनि उद्योगी वा व्यवसायीहरूले सजिलै पूँजी लिन्छन् भन्ने भ्रम हटाउनुपर्ने उनले बताए।




