राजनीति

संसदीय सुनुवाइमा न्यायाधीश प्रस्तावित पोखरेलप्रति सांसदहरूको तीव्र आलोचना

काठमाडौं। सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश मेघराज पोखरेल आइतबार संसदीय सुनुवाइ समितिमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरूको कडा आलोचनाको सामना गरेका छन्। सांसदहरूले उनको राजनीतिक पृष्ठभूमि, अधिवक्ताका रूपमा सर्वोच्च बार एसोसिएसनको अध्यक्ष पदमा अधूरो कार्यकाल र न्यायिक निष्पक्षतामा पार्न सक्ने असरबारे प्रश्न उठाए।

नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले पोखरेलको पृष्ठभूमि राजनीतिक भएको भन्दै न्यायाधीश पदका लागि उनको उम्मेदवारीले न्यायिक विचलनको जोखिम बढाउने तर्क गरे। बर्तौलाले पोखरेललाई स्वविवेकले प्रक्रिया छोड्न सुझाव पनि दिए। “बारमा गरेको प्रतिबद्धता तोडेर न्यायाधीश बन्न आउनु पदप्रतिको निष्ठामाथि प्रश्न हो,” उनले भने।

नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले पनि पोखरेलको उच्च नैतिकता र आचरणमाथि प्रश्न उठाए। “निर्वाचित भएर कार्यकाल पूरा नगरी सर्वोच्चमा जानुले व्यवहारमा नैतिकताको प्रश्न खडा गर्छ,” उनले टिप्पणी गरे।

नेकपा एमालेकी सचेतक सुनिता बरालले पनि पोखरेलको प्रस्तुतीबाट न्याय सम्पादनमा शंका गर्ने ठाउँ मिलेको धारणा राखिन्। “राजनीतिक पृष्ठभूमिका कारण न्यायिक निष्पक्षतामा असर पर्ने सम्भावना देखिन्छ,” उनले भनिन्।

यसअघि पोखरेलले संसदीय समितिमा आफ्नो विस्तृत कार्ययोजना प्रस्तुत गर्दै न्यायिक स्वतन्त्रता, निष्पक्षता र संविधानको संरक्षणमा अडिग रहने प्रतिबद्धता जनाएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *