काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले पटक–पटकको सङ्घर्षबाट प्राप्त संवैधानिक अधिकारको रक्षाका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा दलीय आधारमा सम्बोधन गर्ने क्रममा श्रेष्ठले ठूलो सङ्घर्षबाट प्राप्त अधिकारको रक्षा गर्दै त्यसको कार्यान्वयनका लागि गणतन्त्रवादी शक्तिहरू एकीकृत हुनुपर्ने आवश्यकता औँल्याए।
पछिल्लो समय देशको परिस्थिति अत्यन्त गम्भीर र जटिल मोडमा पुगेको उल्लेख गर्दै उनले नेपालको सङ्घीय लोकतान्त्रिक, समानुपातिक समावेशी र धर्मनिरपेक्षतालगायत प्राप्त अधिकार जोगाउनु अहिलेको मुख्य चुनौती रहेको बताए। देशको अहिलेको मुख्य विषय सामाजिक र आर्थिक रूपान्तरण भएको उल्लेख गर्दै उनले राजनीतिक उपलब्धिलाई सामाजिक र आर्थिक क्षेत्रमा विस्तारित गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।
सांसद श्रेष्ठले भने, “हामीले राजनीतिक परिवर्तन गरेका छौँ, तर जनताका शिक्षा, स्वास्थ्य, रोजगारको समस्या समाधान गर्न सकेका छैनौँ, जनताले पाउनुपर्ने न्यूनतम सेवा दिन सक्नुपर्छ।” प्राप्त उपलब्धिलाई ठीक ढङ्गबाट जनतासमक्ष पुर्याउनुपर्ने बताउँदै उनले दलहरूले एकता गर्दै समन्वय र सहमति गरेर देशको पक्षमा काम गर्नुपर्ने धारणा व्यक्त गरे।
उनले भने, “नेपाली जनताले चाहेको र आजको आवश्यकताको स्तरको सामाजिक र आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्रताका साथ फड्कोमा पुर्याउन नसकेको यथार्थ हो, यो कुरालाई हामीले स्वीकार गर्नुपर्छ।” शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुमा जोड दिँदै उनले सरकारको ध्यानाकर्षण गराए।




