काठमाडौं । नेपाल बार एशोसिएशनको नयाँ कार्यसमिति चयनका लागि चैत २३ गते निर्वाचन हुँदैछ। यसपटक बारको नेतृत्वका लागि दुई फरक गठबन्धन चुनावी मैदानमा छन्। सत्तापक्षीय नेपाली कांग्रेस र नेकपा एमालेनिकट कानुन व्यवसायीहरूको समूहले ूलोकतान्त्रिक प्रगतिशील तथा देशभक्त कानुन व्यवसायी समूहू को नाममा प्यानल बनाएको छ। अध्यक्ष पदमा डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र उम्मेदवार छन् भने महासचिव पदमा एमालेनिकट केदार कोइराला उठेका छन्।
उता, प्रतिपक्षी गठबन्धनमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आबद्ध छन्। उनीहरूले व्यावसायिक कानुन व्यवसायी समूहू नामकरण गरेका छन्। यस समूहबाट गणतान्त्रिक कानुन व्यवसायी संगठनका पूर्वमहासचिव तथा पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ अध्यक्षमा प्रतिस्पर्धी छन् भने महासचिव पदका लागि रास्वपानिकट अधिवक्ता यज्ञमणि न्यौपाने उम्मेदवार छन्।
चुनावी रणनीति र दौडधुप
दुवै पक्ष चुनावी एजेन्डासहित देशव्यापी प्रचारप्रसारमा जुटेका छन्। मिश्र नेतृत्वको समूहले पश्चिम क्षेत्रबाट अभियान थालेको छ भने श्रेष्ठ नेतृत्वको समूह पूर्वी नेपालमा केन्द्रित छ। कानुन व्यवसायीहरूसँग अन्तरक्रिया गर्दै, भोट माग्ने कार्यक्रम दुवै पक्षले तिव्र बनाएका छन्।
एजेन्डा के –के ? लोकतान्त्रिक समूह (सत्तापक्षीय गठबन्धन)
न्यायपालिकालाई भ्रष्टाचारमुक्त बनाउने
कानुन व्यवसायीहरूको सशक्तिकरण
नवोदित र महिला कानुन व्यवसायीका लागि विशेष नीति
एआई (कृत्रिम बौद्धिकता) को उपयोग गर्दै बारलाई आधुनिक बनाउने
व्यावसायिक समूह (विपक्षी गठबन्धन)
स्वतन्त्र, सक्षम र पारदर्शी न्यायपालिका निर्माण
कानुन व्यवसायीहरूको व्यावसायिक हकहित र सुरक्षाका लागि नीति
कानुन व्यवसायी महिलाको सहभागिता सुनिश्चित गर्ने
संविधान संशोधन, संघीयता र समावेशितालाई बल दिने
निर्णायक घडी नजिकिँदै
चुनावी सरगर्मी बढ्दै गर्दा दुवै पक्ष मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयासमा छन्। अन्तिम समयमा नेतृत्व चयनका विषयमा असन्तुष्टि र भित्री विवादहरू पनि देखिएका छन्, जसले नतिजामा प्रभाव पार्न सक्छ। अबको केहि दिनभित्रै नेपाल बारको नयाँ नेतृत्व को बन्ने भन्ने टुंगो लाग्नेछ।




