काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आर्थिक उपार्जन र सुनिश्चित भविष्यका लागि नेपालमा प्रशस्त अवसर रहेका बताएका छन् ।
नुवाकोटको आदर्श बहुमुखी क्याम्पसको ३९ औँ वार्षिकोत्सवलाई शुक्रबार सम्बोधन गर्दै उनले श्रम गर्ने उमेरका युवालाई रोजगारको खोजीमा विदेश जानुको विकल्पमा स्वदेशमा स्वरोजगार र आर्थिक उपार्जनका अवसर खोज्न आग्रह गरे । उनले नेपालमा आर्थिक उपार्जनका प्रशस्त सम्भावना रहेकाले विदेश जान लाग्ने खर्चको लगानी र त्यहाँ गर्ने श्रम यहीँ (स्वदेशमा) गर्न आग्रह गरे ।
“नेपालका विश्वविद्यालयमा शिक्षाको गुणस्तर प्रभावकारी र अब्बल छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जानुपर्छ भन्ने मानसिकता त्यागेर त्यो लगानी यहीँ गरेर उद्यमी बन्नुपर्छ”, पूर्वअर्थमन्त्रीसमेत रहनुभएका महतले भने,“विदेशमा गर्ने श्रम र दिने समय नेपालमा दिन सकेमा त्यहाँ हुनेभन्दा कम आम्दानी यहाँ हुँदैन । मेहेनत र श्रम गर्नेको भविष्य स्वदेशमा नै सुनिश्चित छ ।”
देशको राजनीतिक अस्थिरता अन्त्य गर्दै स्वदेशमा लगानीमैत्री वातावरण तयार हुँदै आएको प्रवक्ता महतको भनाइ छ । सामाजिक सञ्जालमा आउने सन्देश समाजमा भ्रम फैलाउने र भड्काउने शैलीमा केन्द्रित हुँदै आएकाले यथार्थ सूचना प्राप्तिका लागि मूलधारका सञ्चारमाध्यमको प्रयोग गर्न उनले सबेलाई आग्रह गरे ।
“देशमा केही हुन्न, केही भएको छैन भन्नेहरूले समाज भड्काइरहेका छन्”, उनले भने,“यहीँ केही गर्छु भन्ने जोशसहित योजना भएकालाई सम्भावनाको प्रशस्त अवसर छन् । देशको विकास र आर्थिक समृद्धिका लागि अहिलेका युवाले जिम्मेवारी लिनुपर्छ ।”




