काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा अधुरा आयोजनालाई पर्याप्त बजेट विनियोजन गर्नुपर्ने धारणा राखेका छन् ।
दलीय आधारमा आफ्ना धारणा राख्नेक्रममा नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा क्रमागत र अधुरा आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने बताए । “अधुरा आयोजना पूरा गर्ने गरी आगामी आर्थिक वर्षको बजेट बनाउन केन्द्रित होऔँ”, सांसद घिमिरेले भने ।
निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाको काम अलपत्र परेको उल्लेख गर्दै सांसद घिमिरेले यी सडक आयोजनाका लागि आगामी आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताए। विश्वविद्यालय ऐन चाँडो कार्यान्वयनमा ल्याउनुपर्नेमा उनले जोड दिए ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद लीलानाथ श्रेष्ठले वर्तमान सरकार गठन भएपछि विविध समस्या समाधान भएको दाबी गरे । “वर्तमान सरकार बनेपछि उखु किसान, दुग्ध किसानले उत्पादनको भुक्तानी पाएका छन् । विकास निर्माण कम्पनीहरुका रकम भुक्तानी भएका छन्”, उनले भने, “अहिलेको सरकार गठन हुँदै गर्दा मुलुकको अर्थतन्त्रको अवस्था अत्यन्त दयनीय थियो । त्यसलाई सही दिशामा ल्याइएको छ ।”
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले विद्यमान सरकार नेपाली नागरिकप्रति जिम्मेवार र जवाफदेही हुन नसकेको आरोप लगाए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका विषयमा सरकारले गरिरहेको काम सही नभएको धारणा उनले राखे । वर्तमान सरकारले आफूले नियुक्ति गरेको मान्छे होइन भन्दैमा घिसिङ माथि अत्याचार गर्न नहुने उनको भनाइ छ । त्यसैगरी ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’को महशुल विवाद टुङ्ग्याउन सरकारले गरिरहेका प्रयास बारे उनले प्रश्न गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले न्याय निरुपणमा असर पार्ने विषयमा सदनमा छलफल नचल्ने व्यवस्था भएपनि आफ्नो दलको सभापतिको विषयमा संसद्मार्फत् विभिन्न आरोप लगाइएको बताए । विभिन्न अदालतमा न्याय निरुपणका रुपमा रहेको रास्वपा सभापति रवि लामिछानेको मुद्दाका बारे संसद्मा अनेक टिकाटिप्पणी हुने गरेको उनको भनाइ छ । संसद् माथि सत्ताको छायाँ छ कि भन्ने प्रश्न उठेको पनि खनालले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले ताप्लेजुङको पाथीभरा क्षेत्रमा पक्राउ परेका ‘नो केबलकार समूह’का व्यक्तिको रिहाइको माग गरे । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आजको बैठकमा गलत तथ्य पेश गरेको उनको आरोप छ ।
विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई कार्यसम्पादनमा कमजोर देखाएर हटाउन खोजेको सरकारले आफ्ना मन्त्रीहरुको कार्यसम्पादनबारे भने बेवास्ता गरेको लिङ्देनको भनाइ छ ।
“कार्यसम्पादन फाराम ढिला बुझाएकै आधारमा घिसिङलाई अङ्कसमेत नदिई हटाउन खोजिएको छ । तर सरकार र मन्त्रीको कार्यसम्पादन मूल्याङ्कनमा पनि उतीर्ण अङ्क आएको देखिँदैन”, उनले भने, “कि त कमजोर मन्त्रीलाई हटाउनुपर्यो कि त सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्यो ।” सरकारलाई मन नपरेको कुनै निरीह कर्मचारीलाई दण्ड चलाउने काम आफ्नो दललाई मान्य नहुने उनको भनाइ छ ।




