काठमाडौं । काठमाडौँ जिल्ला अदालतका एक अधिकृत बलात्कारको कसुरमा पक्राउ परेका छन् । काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेरलाई आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीका अनुसार बलात्कारको कसुर गरेको जाहेरी परेपछि गोपाल गजमेरलाई पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।
गजमेरविरुद्ध गत माघ २९ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएलगत्तै गजमेरलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । गजमेर यसअघि उच्च अदालत पाटनमा कार्यरत रहँदा सोही कार्यालयमा करारमा काम गर्ने एक कर्मचारीसँग नजिकिएका थिए । ती युवतीसँग नजिकिएका गजमेरले आफूलाई गत माघ १८ गते करणी गरेको भन्दै प्रहरीमा जाहेरि परेको थियो ।
हाल गजमेरलाई पक्राउ गरी अनुसनधान भइरहेको र गजमेरले हालसम्म आफ्नो काम वा अन्य विषयमा केही नबताएको एसपी कार्कीले बताए । उनीसँग बयान लिने क्रममा त्यो विवरण खुल्ने भएपनि अहिले नै उनीसँग बयान नलिएकाले उनीबारे थप केही जानकारी नभएको कार्कीले बताए ।




