देश

सेबोनको अध्यक्ष पदमा खुल्यो आवेदन

काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको छ। अर्थ मन्त्रालयले बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन खुलाएको हो।

मन्त्रालयद्वारा गठित सिफारिस समितिले इच्छुक तथा योग्य नेपाली नागरिकबाट आवेदन माग गर्दै सूचना जारी गरेको छ। इच्छुक उम्मेदवारले  अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारस्थित समितिको सचिवालयमा कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ।

गत साता मन्त्रिपरिषद्को बैठकले अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र नेपाल बैंकर्स एशोसिएशनका पूर्वअध्यक्ष भूवनकुमार दाहाल सदस्य रहेका छन्।

यसअघि धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका थिए। भ्रष्टाचार र अनियमितताको आरोप लागेपछि उनले राजीनामा दिएका हुन्। त्यसपछि रिक्त पद पूर्तिका लागि सरकारले नियुक्ति प्रक्रिया अगाडि बढाएको हो।

अध्यक्ष पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्नेछ।

त्यसैगरी, उम्मेदवार नेपाली नागरिक हुनुका साथै उच्च नैतिक चरित्र भएको र प्रचलित कानूनअनुसार अयोग्य नभएको हुनुपर्नेछ। उमेर हद ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको निर्धारण गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *