वाशिंगटन । भारतीय मूलका विवेक रामास्वामीले अमेरिकी राष्ट्रपति चुनावको उम्मेदवारी रद्द गरेका छन् । उनले अब चुनाव नलड्ने घोषणा गरेका छन् ।
अमेरिकी राज्य आयोवामा रिपब्लिकन पार्टीबाट उम्मेदवारीको लागि चुनावमा चौथो स्थानमा आएसँगै उनले चुनाव नलड्ने घोषणा गरेका हुन् । यस राज्यमा डोनाल्ड ट्रम्पले ५१ प्रतिशत मत प्राप्त गर्दै शानदार जित हासिल गरेका छन् ।
राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट बाहिरिएपछि विवेक रामास्वामीले प्रचारप्रसार बन्द गरेको बताएका छन् । उनले अब राष्ट्रपति पदमा ट्रम्पलाई समर्थन गर्ने बताएका छन् । साथै उनले अब अर्को सातान्यू ह्याम्पशायरमा हुने चुनावको प्रचारका लागि ट्रम्पसँग र्याली गर्ने भएका छन् ।
आयोवाको चुनावमा फ्लोरिडाका गभर्नर रोन डे-सेन्टिस दोस्रो र भारतीय मूलकी निक्की हेली तेस्रो स्थानमा रहेकी छिन् । यसअघि आयोवामा मतदान सुरु भएको आधा घण्टाभित्रै मिडिया रिपोर्टमा ट्रम्पको जित घोषणा गरिएको थियो ।
आयोवा राज्यमा उम्मेदवारीका लागि चुनावी अभियानका क्रममा ट्रम्पले विवेक रामास्वामीलाई कडा निशाना बनाएका थिए । ट्रम्पले विवेक रामास्वामीलाई सिधै धोखाधडी र ठग भनेका थिए । एक बयानमा ट्रम्पले आफ्ना समर्थकहरूलाई रामास्वामीलाई समर्थन नगर्न चेतावनी पनि दिएका थिए । ट्रम्पले विवेकलाई भोट गर्नु भनेको विपक्षी दललाई भोट दिनु जस्तै हुने बताएका थिए ।




