काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको फोटो प्रयोग गर्दै खोलिएको ह्वाटसएप एकाउन्टबाट विभिन्न व्यक्तिलाई म्यासेज गर्ने र पैसा माग्ने गरिएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ ।
राष्ट्र बैंकले आइतबार सामाजिक सञ्जाल फेसबुक र एक्समा समेत राष्ट्र बैंकका गभर्नर अधिकारीको फोटो दुरुपयोग गर्दै ह्वाटसएप एकाउन्ट बनाएको जानकारी दिँदै भ्रममा नपर्न भनेको छ ।
‘यस बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी ह्वाटस एप एकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा अनुरोध छ,’ राष्ट्र बैंकले निकालेको सूचनामा भनिएको छ ।
अधिकारीको फेक एकाउन्ट खुलेको जानकारीपछि गभर्नर कार्यालयले उक्त एकाउन्ट बन्द गर्ने र गलत गतिबिधिमा संलग्नलाई कारबाही गर्न माग गर्दै साइबार ब्यूरोमा उजुरी दिएको हो ।
वित्तीय सचेतनासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको राष्ट्र बैंकका उच्च अधिकारीहरुमाथि नै फर्जी एकाउन्टमार्फत् ठगीको प्रयास हुनु गम्भीर भएको जानकारहरु बताउँछन् ।
फेक एकाउन्टबाट राष्ट्र बैंककै निर्देशक तथा विभिन्न वाणिज्य बैंकका सिईओकहाँ फोन गएको पाइएको छ ।




