काठमाडौँ । नेपाली कांग्रेसले आज कर्णाली प्रदेशस्तरीय भेला गर्दैछ । पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले सातै प्रदेशमा “प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला” कार्यक्रमअन्तर्गत आज र भोलि कर्णालीमा भेला आयोजना गर्न लागेको हो ।
भेलालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पार्टीका शीर्ष नेताहरूको सहभागितामा हुने उक्त भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका विषयमा केन्द्रित रहने बताइएको छ । कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, १० वटै जिल्लाका सभापति, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षहरूको सहभागिता रहनेछ ।
यसअघि वैशाख २६ र २७ गते सुदूरपश्चिम प्रदेशमा धनगढीमा भेला सम्पन्न भइसकेको छ ।त्यस्तै, गण्डकी प्रदेशमा वैशाख ३१ र जेठ १ गते पोखरामा, बागमती प्रदेशमा जेठ ४ र ५ गते धुलिखेलमा, मधेश प्रदेशमा जेठ ६ र ७ गते बर्दिवासमा, कोशी प्रदेशमा जेठ ८ र ९ गते लौकहीमा तथा लुम्बिनी प्रदेशमा जेठ १४ र १५ गते तिलोत्तमामा भेला हुने तय गरिएको छ।




