देश

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौं । विभिन्न जिल्लामा भएको दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ खर्कट्टास्थित सडकमा बागमती प्रदेश ०१-०२९ च ०२४८ नम्बरको कार र बागमती प्रदेश ०३-०४ प १९५८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक हुप्सेकोट गाउँपालिका-२ कोलिया बस्ने ४१ वर्षीय धन बहादुर सार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहा, बिष्णुपुर गाउँपालिका-४ थल्हास्थित सडकमा से.१ क १३४५ नम्बरको बसको ठक्करबाट सोही गाउँपालिका-४ थल्हा बस्ने राज कुमार साहको छोरा ३ वर्षीय आयाश साहको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । कञ्चनपुर, भिमदत्त नगरपालिका-१४ पलियास्थित सडकमा से.१ क ९९९ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने गजेन्द्र कुँवरको छोरा ३ वर्षीय कार्तिक कुँवरको बुधबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुरस्थित सडकमा म.१ प ४८५२ नम्बरको मोटरसाइकल बिहीबार बिहान दुर्घटना हुँदा चालक भिमदत्त नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ४८ वर्षीय महेन्द्र खड्काको मृत्यु भएको छ । दुर्घटना भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट समेत खटिएको प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल र वडा अध्यक्ष खड्कालाई मृत अवस्थामा फेला पारेको हो ।

उदयपुर, त्रियुगा नगरपालिका-८ राजाबासस्थित सडकमा प्र.१-०५-००१ ज ००३५ नम्बरको हाइसको ठक्करबाट साइकलयात्री रौतामाई गाउँपालिका-७ मुर्कुची बस्ने ३८ वर्षीय तुलसी मङ्ग्रातीको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा, बहुदरमाई नगरपालिका-६ गम्हरीयास्थित सडकमा बिन्दवासिनीबाट डकैलातर्फ जाँदै गरेको प्र.२-०३-००१ प ९९८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-४ बहुअरी बस्ने २३ वर्षीय अकाश प्रसाद रौनियार(गुप्ता) को मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

कैलाली, मोहन्याल गाउँपालिका-७ डङ्डङे खोलास्थित सडकमा भे.१३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर बुधबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार अछाम पञ्चदेवल बिनायक नगरपालिका-१ बस्ने ३८ वर्षीय खगेन्द्र प्रसाद ढकाल र बर्दिया नेउलापुर बस्ने ३४ वर्षीया महेश्वरी तिमिल्सेनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

भक्तपुर, सूर्यविनायक नगरपालिका-९ पलासे फन्डभ्यालीस्थित पर्खालको चेपमा प्रदेश २-०२- ०१९ प १७५८ नम्बरको मोटरसाइकलले च्यापिएर मृत्यु भएको अवस्थामा हाल नाम, थर, वतन न खुलेकी अन्दाजी २९ वर्षीया महिलाको शव बुधबार दिउँसो फेला परेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *