काठमाडौँ ।उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई नयाँ प्रविधि र पद्धतिसँग आबद्ध गर्दै विश्वभर प्रचारप्रसार गर्न आवश्यक रहेको बताएका छन्।
मंगलवार काठमाडौँमा आयोजित नेपाल ज्योतिष परिषद्को २६ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले ज्योतिष विद्या प्रमाणित र वैज्ञानिक विद्या भएको बताए। उनले ज्योतिष विद्यालाई यदाकदा हचुवाको रूपमा अभ्यास गर्ने र जीविकोपार्जनको माध्यममात्र बनाउने देखिएको भन्दै योभन्दा माथि उठेर तथ्य र प्रमाणमा आधारित वैज्ञानिक र अनुसन्धानमूलक विद्याको रूपमा विकास गर्न आवश्यक रहेको बताए।
उनले भने, ‘ज्योतिष विद्या प्रमाणित र वैज्ञानिक विद्या हो। समयको परिवर्तनसँगै हाम्रो परम्परागत शास्त्रीय ज्योतिष विद्यालाई अब नयाँ प्रविधि र पद्धतिसँग आबद्ध गर्दै विश्वभर यसको प्रचारप्रसार गर्नुपर्छ। ज्योतिष विद्यालाई यदाकदा हचुवाको रूपमा अभ्यास गर्ने, यसलाई जीविकोपार्जनको माध्यममात्र बनाउने देखिएको केही संकेत र प्रश्नमाथि उठेर यसलाई तथ्य र प्रमाणमा आधारित वैज्ञानिक र अनुसन्धानमुलक विद्याको रुपमा विकास गर्न आवश्यक छ।’
उपप्रधानमन्त्री खड्काले नेपाल ज्योतिष परिषद्ले ज्योतिष विद्याको प्रचारप्रसारमा जोड दिनुपर्ने बताए।




