काठमाडौँ। नेकपा एमालेले आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम टुङ्ग्याउने भएको छ ।
शुक्रवार बसेको एमाले सचिवालय बैठकले राष्ट्रियसभा उम्मेदवारको टुङ्गो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । सोही अनुसार आज साँझसम्म उम्मेदवारको टुङ्गो लागिसक्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । सोमबार मनोनयन दर्ता हुने भएकाले आज साँझसम्म अध्यक्ष ओली र महासचिव शङ्कर पोखरेलले उम्मेदवारको टुङ्गो लगाउने उनले जानकारी दिए ।
यसअघि एमालेका सातै प्रदेश कमिटीले राष्ट्रिय सभाका आकाङ्क्षी उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको थियो ।
सदस्य निर्वाचनअन्तर्गत सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । एमालेले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा एमालेले १९ सिटमै उम्मेदवारी दिने निर्णय गरिसकेको छ ।




