राजनीति

जनताको मनोबल माथि उठाउन र विश्वास बढाउन समृद्धिका लागि संकल्प यात्रा सुरु: ओली

पाँचथर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमत आएमात्रै देश समृद्ध हुने दाबी गरेका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा शनिबार फिदिममा आयोजित बृहत् आमसभामा बोल्दै अध्यक्ष ओलीले एमालेको एकल बहुमतले मात्रै राष्ट्रिय स्वाभिमान र विकासको समृद्धि आउने बताएका हुन् ।

एमाले सधैं राष्ट्रियताको रक्षाको पक्षमा रहेको बताउँदै ओलीले जनताको मनोबल माथि उठाउन र विश्वास बढाउन समृद्धिका लागि संकल्प यात्रा सुरु गरेको बताए । उनले एमाले सरकारबाट हटेपछि देशमा अस्थिरता, अराजकता, र अशान्ति बढेर गएको बताए । एमाले फुटाउन र सिद्धाउन प्रयास गरिएको भएपनि एमाले त्यसलाई चिर्दै देशको पहिलो राजनीतिक शक्ति बनेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले एमालेको एउटै उद्देश्य र गन्तव्य देशको हित भएको बताए । आर्थिक हिसाबले देशमा उत्पादन घटेको, युवा विदेश पलायनको दर बढेको र युवालाई सरकारले देशमा बस्ने आधार नै दिन नसकेको उनले आरोप लगाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *