काठमाडौं । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा दिएको एउटा अभिव्यक्ति चर्चित छ । सोमबारको बैठकमा रविले शीर्ष नेताले संसद् हाइज्याक गरेको आरोप लगाए । उनले आफूहरूको कुरा राख्ने ठाउँ नभएको भन्दै आक्रोश पोखे ।
सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गर्दै आएको छ । सोमबार पनि एमाले सांसदहरूले उठेर संसद्को नियमित कामकारबाही अघि बढ्न दिएनन् । त्यसपछि सभामुख देवराज घिमिरेले भदौ ३ सम्मका लागि संसद् बैठक स्थगित गरेका छन् । सभामुख घिमिरे पनि एमालेसँगै मिलेको आशंका सत्तारुढ दल र रास्वपाका सांसदको आशंका छ ।
संसद् बैठकबाट बाहिरिएलगत्तै रवि लामिछानेले ट्विटमा दुई शब्द लेखे– पार्लियामेन्ट हाइज्याक । रवि लामिछाने सामाजिक सञ्जाल फेसबुकमा निकै लोकप्रिय छन् । उनका हरेक पोस्टमाथि लाइकको बाढी आउँछ । तर सोमबार उनले गरेको ट्विटमा समर्थनभन्दा गालीको बाढी आयो । रविको ट्विटमा समर्थन गर्ने भन्दा उनलाई गाली गरेर उछितो काढ्नेको ओइरो लागेको छ ।
कतिपयले रविलाई संसद् खोल्न रास्वपाको भूमिका नै संदिग्ध भएको आरोप लगाएका छन् । पहिले संसदमा एमालेसँग मिलेमतो गरेर हिँडेको भन्दै अहिले संसद् हाइज्याक भएको भनेर गुनासो गर्नुको कुनै तुक नभएको भन्दै रविको आलोचना गरिएको छ । ट्विटरमा जस्तै फेसबुकमा पनि आलोचना हुन थाल्ने हो भने चार वर्षपछि हुने निर्वाचनमा रास्वपालाई सजिलो हुने देखिन्न ।




