काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्ने बताएका छन् । एमालेले मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवसको अवसरमा आज मदननगर बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले दुई नेताले छोडेर गएको अभिभारा पूरा गर्नुपर्ने बताए ।
“मुलुक बनाउन बोकेका सपना पूरा गर्न नभ्याउँदै हत्या भयो,” अध्यक्ष ओलीले भने , “त्यो सपना आज उनीहरुका उत्ताराधिकारी तपाई हामीले पूरा गर्नुपर्नेछ ।” उनले मदन भण्डारीका सपना पूरा गर्न चुनौती रहेको तर षड्यन्त्रलाई परास्त गरी उनको सपनालाई साकार पार्नुपर्ने बताए ।
अध्यक्ष ओलीले पार्टी एकताबद्ध र सङ्गठन सृदृढ भएर अघि बढ्यो भने मात्र उनीहरुले छोडेर गएको अभिभारा पूरा गर्न सकिने धारणा राखे ।
अध्यक्ष ओलीले मदन भण्डारीले अघि सारेको जनताको वहुदलीय जनवाद (जबज)का उद्देश्य साकार पार्न नयाँ ढङ्गले सङ्कल्प गर्ने धारणा राखे । उनले मुलुकको परिस्थिति जटिल रहेकाले अहिलेको राजनीतिलाई हल्काफुल्का नलिन आग्रह गरे । एमालेले देश, जनता, परिवर्तन, सुशासनका लागि एकता गर्ने उनको भनाइ थियो ।
मदन नगर बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीलगायतका शीर्ष नेताहरुले नेता भण्डारीको शालिकमा माल्यापर्ण गरे ।




