काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज २ हजार ३ सय ७७ जनामा गरिएको परीक्षणमा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ ।
यस्तै, आज ८१ जना उपचारपछि घर फर्किएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ४५ पुगेको छ ।
बुधबार मात्रै देशभर एक सय छ जना नयाँ सङ्क्रमित देखा परेका थियो । हाल काठमाडौँ उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष (आइसियु)मा र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ ।यस अधि हिजो पनि तीन महिनापछि एक जनाको मृत्यु भएको थियो।
आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो ।





