समाचार

मुख्य समाचार : प्रतिपक्षी दलसँग संवाद थाल्दै सरकार, नागरिकता विधेयकले राजनीति तरंगित

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानामन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । निर्वाचन घोषणा र नागरिकता विधेयक संसदबाट पारित गराउने वेला सरकारले प्रमुख प्रतिपक्षी दललाई पूरै बेवास्ता गरेको भन्दै आपत्ति समेत जनाएका थिए । उनले सरकार एक्लै हिँडेर ठीक ठाउँमा पुग्न नसकिने धारणा व्यक्त गरेका थिए ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिका लगायत ४ देशका राजदूतहरूले भेटवार्ता गरेका छन् । भेट गर्ने राजदूतहरूमा अमेरिका, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया र बेलायतका रहेका छन् । उनीहरूले बुधवार दिँउसो एमाले केन्द्रीय पार्टी कार्यालय च्यासलमा भेटवार्ता गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षाका साथै मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक रहेको बताएका छन् । अध्यक्ष नेपालले जनतासँग जोडिएका समस्या समाधान गर्न सामाजिक न्याय, समानता कायम गर्न कम्युनिष्ट आदर्श वैज्ञानिक रहेको बताउँदै त्यसका नेता जनहितका पक्षमा संवेदनशील हुने गरेको बताए ।

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भदौ १५ गते सोधपुछ गर्ने भएको छ । बुधबार बसेको समितिको बैठकले जबरामाथि लागेको आरोपमाथि सोधपुछ गर्न १५ भदौमा बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्नेबाहेक केपी ओलीले अरु काम नगरेको आरोप लगाएका छन् । चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उनले आफूलाई ओलीले आफूलाई चितवनमा असफल पार्नेबाहेक अरु काम नगरेको आरोप लगाएका हुन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरभित्रका अवैधानिक संरचना भत्काएरै छोड्ने बताएका छन् । बुधवार न्यूरोडमा रहेको आरबी कम्प्लेक्समा बनेका अवैध संरचना भत्काउने पुगेका शाहले महानगरभित्र बनेका सबै अनधिकृत संरचना हटाउने बताएका हुन् ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला धुम्बाराहीस्थित हेम्स अस्पताल भर्ना भएका छन् । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलका संयोजक रहेका सिटौलालाई कोराना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका उनलाई ज्वरो बढ्नुका साथै रगतमा हेमोगोलविनको कमी देखिएपछि बुधबार अस्पताल भर्ना भएका हुन् ।

प्रधानमन्त्री प्रयुत ओ चानलाई संवैधानिक अदालतले निलम्बन गरिदिएको छ । विपक्षी दलहरुले उनका विरुद्धमा सोमबार दिएको मुद्धाका आधारमा अदालतले निलम्बन गर्ने फैसला गरेको हो । उनको कार्यकालका बारेमा विपक्षी दलहरुले मुद्धा दिएपछि प्रधानमन्त्रीको कार्यकालका बारेमा विवाद रहेको छ ।

क्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सम्भावित रुसी आक्रमणको चेतावनी दिएका छन् । जेलेन्स्कीको चेतावनी यस्तो समयमा आएको हो जब युक्रेनले बुधबार आफ्नो स्वतन्त्रता दिवस मनाइरहेको छ । अबेर राती जारी गरिएको सन्देशमा, जेलेन्स्कीले ‘युक्रेन यस्ते समयमा आफ्नो स्वतन्त्रताको उत्सव मनाइरहेको हो जब उसले एक ठूलो खतरासँग पनि लड्नुपरिरहेको छ’ भनेका छन् ।

अमेरिकी तल्लो सदन प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीका श्रीमान् लाई पाँच दिनको जेल सजाय सुनाइएको छ । मदिरा सेवन गरी गाडी चलाउँदा दुर्घटना गराएको आरोपमा दोषी ठहर गर्दै पल पेलोसीलाई पाँच दिनको जेल सजाय सुनाइएको हो । उनले पनि आफूले मदिरा सेवन गरी गाडी चलाएको स्वीकार गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *