राजनीति

कमजोरीको संस्थागत समिक्षा नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ : भीम रावल

काठमाडौं ।नेकपा (एमाले) का सांसद तथा पूर्व उपाध्यक्ष भीम रावलले कमजोरीको संस्थागत समिक्षा नगरी पार्टी उल्टो बाटो हिँड्दा झन् पराजय हुने बताएका छन् । कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरेर अघि बढ्नुको साटो नेकपा (एमाले) उल्टो बाटो हिड्न खोजेको उनले बताएका हुन् ।

नेता रावलले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्न नेतृत्वलाई आग्रह गरेका छन् । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीका लागि एमाले अनुशासन आयोगले सिफारिस गरेपछि रावलले सोमबार सामाजिक सञ्जालमार्फत पार्टीमा भएका कमिकमजोरिको संस्थागत रूपमा गम्भीर समीक्षा गर्न पनि सुझाव दिएका हुन् ।

‘देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो,’ उनले भनेका छन्, ‘यसका लागि आगामी चुनाव जित्नुपर्छ । कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ । यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ ।’

यसअघि नेता भुषालले पनि स्थानीय चुनाव परिणामबारे समीक्षा हुनुपर्ने धारणा राखेका थिए। उनलाई एमाले अनुशासन विभागले कारबाहीका लागि सिफारिस गरेको थियो।

यसअघि नेकपा (एमाले)का सचिव योगेश भट्टराईले अप्ठ्यारो बेलामा सबै सम्हालिनु पर्ने भन्दै आवेश र उत्तेजनाको कोही पनि आउन नहुने बताएका थिए। ‘अप्ठ्यारो बेलामा सबै सम्हालिनुपर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा पुर्‍याउँदैन । फेरि पनि बादे बादे जायते तत्त्व बोध’ सचिव भट्टराईले लेखेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *