काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएका छन् ।
चुनावी नतिजापछिको अवस्थाको समीक्षा र पदाधिकारी चयनको विषयमा छलफल गर्न अपरान्ह बैठक बस्न लागेको नेता चक्रपाणी खनालले जानकारी दिए । यसअघि केन्द्रीय समितिको बैठक जेठ २० मा बोलाइएकोमा असारसम्मलाई स्थगित गरिएको थियो । पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले पदाधिकारी चयनको विषयमा टुंगो लगाउने सम्भावना छ ।
माओवादीमा महासचिवको विवादका कारण पदाधिकारी चयन हुन सकेको छैन । महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको सशक्त दावी छ । सर्वसम्मत हुँदा दुई जनामध्ये एक हुनसक्ने तर निर्वाचन हुने अवस्थामा आफू पनि महासचिवको दावेदार रहेको खनालले बताए । बैठकमा चुनावको समिक्षा हुने नेताहरुले बताएका छन् ।




