समाचार

आयोगले सोध्यो केशव स्थापितसँग २४ घन्टे स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक पत्र पठाइ स्थापितसँग स्पष्टीकरण मागेको हो ।

‘विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग आज स्पटीकरण मागेको छ । चौबिस घन्टाभित्र स्पष्टीकरण पेस गर्न भनेका छौं,’ निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल महाशाखाका सहसचिव यज्ञ भट्टराईले भने ।

केही दिनअघि स्थापितले धुम्बाराइस्थित नेशनल कलेजमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा प्रश्न सोध्ने महिलामाथि गरेको व्यवकारलाई लिएर स्पटीकरण सोधिएको उनले बताए ।

कार्यक्रममा स्थापितले एक महिलाले उनीमाथि लागेको ‘मिटु’ का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै ‘यु आर ब्युटीफुल लेडी, तर थुतुने ठिक भएन’ भन्ने जबाफ फर्काएका थिए । त्यसपछि स्थापित थप विवादमा तानिएका थिए ।

आयोगले सोही विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधेको हो ।

‘उहाँको अभिव्यक्ति निर्वाचन आचारसंहिता अनुकूल नभएको हुँदा के कसो भएको हो चौबिस घन्टाभित्र स्पटीकरण पेस गर्नु भनी भनेका छौं,’ सहसचिव भट्टराईले भने ।

पत्र बुझेको चौबिस घन्टाभित्र स्थापितले स्पष्टीकरण आयोगसमक्ष बुझाउनु पर्ने उनले जनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *