काभ्रे । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता भगवान अधिकारी काभ्रेको बेथानचोक गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका छन् । उनी नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य, पूर्व जिल्ला अध्यक्षसमेत हुन् ।
काभ्रेका १३ स्थानीय तहमध्ये सातवटा पालिकामा कांग्रेस, चार पालिकामा माओवादी केन्द्र र दुईवटा पालिकामा एकीकृत समाजवादीले प्रमुख पद पाउने गरी गठबन्धनमा सहमति भएको छ ।गत स्थानीय तहको निर्वाचनमा बेथानचोक गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका थिए । गाउँपालिका अध्यक्षमा कांग्रेसका प्रेमबहादुर तिमल्सिनाले ३८६८ मत ल्याएर जित हासिल गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेम लामाले २७४१ र माओवादी केन्द्रका मर्दनसिंह तामाङले १७४९ मत ल्याएका थिए।
उपप्रमुखमा कांग्रेसकै सरिता लामिछाने तामाङ ३८५२ मत ल्याएर निर्वाचित भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उन्नती केसी २८४१ मतले पछि परिन् । माअोवादीकी तारा रानाले १६३२ मत ल्याइन् ।अघिल्लो निर्वाचनमा कांग्रेस एक्लैले निर्वाचन जितेकोमा यसपटक गठबन्धन भएकाले अधिकारीको विजय सुनिश्चित मानिएको छ । किनभने अधिकारी आफैं पनि लोकप्रिय युवा नेता हुन् ।
बेथानचोक गाउँपालिकामा कांग्रेस एक्लैको चार हजार र माओवादीको १८ सय मत जोड्दा झन्डै ६ हजार हुन्छ । त्यसमाथि एमाले विभाजन भएको र एकीकृत समाजवादीले करिब एक हजार मत काट्ने भएकाले कांग्रेसका उम्मेदवार अधिकारीले झन्डै सात हजार मत ल्याएर विजयी हुने अनुमान गरिएको छ ।अध्यक्षका उम्मेदवार अधिकारीले आफूले विजय हासिल गरेमा बेथानचोकलाई पर्यटक गाउँपालिकाको रूपमा बिस्तार गर्ने बताए । काठमाडौैं उपत्यकाबाट नजिक रहेको बेथानचोक पर्यटन र कृषि क्षेत्रको भण्डार मानिन्छ ।




