समाचार

सिलाइ व्यवसायका सामानमा विशेष छुट दिइनुपर्छः मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सिलाइ व्यवसाय सम्मानित पेशा भएको बताएका छन् । नेपाल कपडा तथा सिलाइ व्यवसायीको दोस्रो साधारणसभामा उनले सिलाइ व्यवसाय सम्मानित पेशा भएको र उक्त व्यवसायलाई सबैले सम्मान गर्नुपर्ने बताएका हुन् ।

उनले भने, “पेशा सबैको सम्मानित नै हुन्छ तर, सिलाइ व्यवसाय भनेको झनै सम्मानित पेशा हो, सिलाइ व्यवसायीलाई सबैले सम्मान गर्नुपर्छ ।” मन्त्री आलेले नेपाल कपडा तथा सिलाइ व्यवसायीका समस्या समाधानका लागि आफूले पहल गर्नेसमेत जानकारी गराए । सिलाइ व्यवसायीलाई आवश्यक पर्ने सामान खरिद गर्नमा राज्यले विषेश छुट दिनुपर्नेसमेत उनले बताए ।कोभिडका कारण सिलाइ व्यवसाय धरासायी भएकाले उक्त व्यवसाय गर्दा चाहिने सामग्री खरिदमा भन्सार छुटका लागि प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग आफूले कुरा गर्नेसमेत मन्त्री आलेले आश्वासन दिए ।

सिलाइ व्यवसाय सबैलाई उपयुक्त हुने व्यवसाय भएकाले आफू उक्त व्यवसायको सधैँ सम्मान गर्दै आएको बताए । उनले विगतका सरकारका पालामा नारायणहिटी राजदरबार संग्रहालय कौडीको भाउमा दिएकाले आफूले कौडीको भाउमा दिएको संग्रहालय फिर्ता ल्याउँदा अहिले धेरैको टाउको दुःखाइ भएकोसमेत बताए । मन्त्री आलेले भने, “नारायणहिटी राजदरबार संग्रहालय कौडीको भाउमा दिन हामीले गणतन्त्र ल्याएका हौँ र ? राज्यको सम्पत्ति दोहन गर्न कसैलाई पनि दिन्नँ ।” उनले भने, “म नेपाली जनताको शीर ननिहुरिने गरी काम गर्छु, आफू पनि गलत गर्दिनँ र गर्न पनि दिन्नँ ।”

मन्त्री आलेले वैदेशिक राजगारीमा जाने नागरिकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विश्रामस्थल, तातोपानी, चिसोपानी, निःशुल्क वाइफाइको व्यवस्था मिलाइएको र विमानस्थलमा कोभिड परीक्षण गरेको शुल्क रु. दुई हजारबाट घटाएर एक हजार १०० बनाइएको बताए । विमानस्थलमा रहेका ट्याक्सी व्यवसायीले मिटरमा जान नमान्ने, मनोमानी रकम लिने गरेका कारण आफूले यात्रुलाई सहज होस् भनेर विमानस्थलबाट गोल्डेनगेटसम्म निःशुल्क सटल बस सञ्चालन गरेको जानकारी उनले गराए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *