राजनीति

मुख्य समाचार : एमसीसीले तरंगित राजनीति, लामो समयपछि शिर्ष नेताको बैठक

काठमाडौं । प्रमुख तिन राजनीतिक दलका शिर्ष नेताहरुका बिचमा लामो समयपछि भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवा समेत सहभागी भएका हुन् । लामो समयदेखि तिक्ततापुर्ण सम्बन्ध देखिएका माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी भएका हुन् ।

नेकपा एमालेले संसदको अवरोध कायमै राख्ने स्पष्ट पारेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको शिर्ष नेताहरुको बैठकमा अध्यक्ष केपी ओलीले संसदको अवरोध कायमै राख्ने बताएका हुन् । एमाले महासचिव शंकर पोखरेलका अनुसार बैठकमा अध्यक्ष ओलीले नेकपा एकिकृत समाजवादीका सांसदहरुलाई कारबाही गरेको सूचना प्रकाशन नगरेसम्म संसदको अवरोध कायमै राख्ने बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौता चुनावपछि मात्रै अघि बढाउन प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीले बोलाएको शिर्ष नेताहरुको बैठकमा अध्यक्ष प्रचण्डले एमसीसीका बारेमा प्रमुख तिन दलको साझा धारणा बनाउन र चुनावपछि मात्रै एमसीसी अघि बढाउन प्रस्ताव गरेका हुन् ।

काठमाडौंमा चल्ने सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हट्ने भएको छ । काठमाडौं उपत्याकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सोमबारदेखि जोर विजोर प्रणाली हटाउने निर्णय गरेको हो । बैठकले आगामी फागुन एक गतेदेखि विद्यालय समेत खुला गर्ने निर्णय गरेको हो । बैठकले काठमाडौंमा लगाइएको स्मार्ट लकडाउन हटाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीका कारण सत्ता गठबन्धनमा कुनै समस्या नरहेको दाबी गरेका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको छलफलपछि मन्त्री कार्कीले एमसीसीका कारण गठबन्धनमा कुनै समस्या नरहेको र चाँडै कार्यान्वयनमा जाने बताएका हुन् ।

कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले नेपाली काँग्रेसबाट २, नेकपा माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री नियुक्त भएका १ जनालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ५१ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३ सय ८६ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा ८ हजार ७ सय ४ जना निको भएका छन् । र, सोही अवधिमा ११ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।

बहुचर्चित भारतीय गायिका लता मंगेशकरको निधनपछि भारतले आइतबार र सोमबार दुई दिन राष्ट्रिय शोक मनाउने भएको छ । गायिका मंगेशकरको शोकमा भारतले राष्ट्रिय झण्डा दुई दिनसम्म आधा झुकाउने निर्णय गरेको छ । भारत रत्न पुरस्कारबाट सम्मानित मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *