राजनीति

प्रदेश १ : ९१ सांसदले गरे मतदान, खातुन आउन बाँकी

काठमाडौं। राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ का ९२ मध्ये ९१ जना प्रदेश सांसदले मतदान गरेका छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार बुधबार दिउँसो २ बजेसम्म ९१ जना प्रदेशसभा सदस्यले मतदान गरेका हुन् । एक जनाले गरेका छैनन् ।स्रोतका अनुसार प्रदेश सांसद गुलेफुन खातुन मतदानमा आएकी छैनन् । उनी फौजदारी मुद्दाको फरार प्रतिवादी हुन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार स्थानीय तहका दुई सय ६८ जनाले मतदान गरेका छन् । चार जना प्रमुख उपप्रमुखले मतदान गर्न बाँकी छ ।

उनका अनुसार निर्वाचनको समय ३ बजेसम्म छ । उनले मतदानका लागि ३ बजेसम्म पर्खिने बताए ।

मतदान सकिएपछि मतगणना सुरु हुने छ । मतदान सकिएको चार घण्टाभित्रमा मतपरिणाम आउने सम्भावना छ ।

निर्वाचन कार्यालयले खुलातर्फ, महिलातर्फ र अल्पसङ्ख्यक वा अपाङ्ग कोटाका लागि छुट्टाछुट्टै मतपत्र बनाएको छ । प्रदेशसभाका सदस्य ९२ र स्थानीय तहका प्रमुख उपप्रमुख दुई सय ७२ जनाले मतदाता छन् । मतगणना प्रदेश निर्वाचन कार्यालयमै हुने छ ।

तीन पदका लागि आठ जना चुनावी मैदानमा छन् । सत्तारूढ गठबन्धनबाट खुलातर्फ नेपाली काङ्ग्रेसका झापाका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीबाट भोजपुरकी जयन्ती राई र अल्पसङ्ख्यक वा अपाङ्ग कोटामा जनता समाजवादी पार्टीका भोजपुरका हेमराज राई छन् ।

नेकपा एमालेको तर्फबाट खुल्लातर्फ मोरङका गुरू बराल, महिलातर्फ झापाकी सुमित्रा भण्डारी र अल्पसङ्ख्यक कोटामा सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पा रहेका छन् । राप्रपाको तर्फबाट झापाका अमरबहादुर विष्टले खुला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवार छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *