काठमाडौं । यतिबेला नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशनको रौनक देखिएको छ । अहिलेसम्म ६४ जिल्लामा वडा तहको अधिवेशन र झन्डै ६० जिल्लामा पालिका तहको अधिवेशन सम्पन्न भइसकेको छ । आ–आफ्ना जिल्लामा वडा र पालिका तहको अधिवेशनमा जानुपर्ने भएकाले धेरै कांग्रेसीले काठमाडौं छाडेका छन् । गाउँगाउँमा कांग्रेस अधिवेशनको उत्साह देखिएको छ भने सहरी क्षेत्र सुनसान देखिएको छ ।
६४ जिल्लामा वडा तहमा नयाँ नेतृत्व आइसकेको छ । पालिका तहको अधिवेशनमा छिटपुटबाहेक संस्थापन पक्षकै पकड देखिएको छ । केही जिल्लामा केन्द्रीय नेताहरूकै वर्चश्व देखिएको छ । संस्थापन र पौडेल पक्षका साथै अन्य केन्द्रीय नेताहरूको पकड पनि देखिएको छ । तनहुँमा रामचन्द्र पौडेल, शंकर भण्डारी, प्रदीप पौडेल, ध्रुव वाग्ले, नवलपरासीमा शशांक कोइराला, झापामा कृष्णप्रसाद सिटौला, नुवाकोटमा सहमहामन्त्री डा प्रकाशशरण महत, अजुर््ननरसिंह केसी, सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेतको पकड देखिएको छ । अन्य नेताहरू फिका देखिएका छन् ।
सभापति शेरबहादुर देउवा पक्षको डडेल्धुरा, दाङ, रूपन्देही, ओखलढुंगा, जाजरकोट, कञ्चनपुरलगायत तीन दर्जन जिल्लामा बलियो पकड देखिएको छ । सभापतिमा दाबी प्रस्तुत गरेका उपसभापति विमलेन्द्र निधिको कन्तबिजोग देखिएको छ । उनको पक्षको पकड भएका पालिका कहीँकतै देखिएन । प्रदेश २ का ६ जिल्लामा क्रियाशील सदस्यता वितरणमा विवाद देखिएकाले त्यहाँ वडा तहको अधिवेशन नै हुन सकेको छैन । ती जिल्लामा पनि निधि पक्ष कमजोर नै रहेको बताइन्छ ।
वडा र पालिका तहको नेतृत्वका साथै त्यहाँबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएर जानेले नै कांग्रेसको केन्द्रीय महाधिवेशनमा प्रभाव पार्ने हुन् । किनभने क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि चयन गर्नेछन् ।




