समाचार

६० हजारको लोभले १५ वर्ष जेल, जीवनभर पश्चाताप

चितवन । जिल्लाको कोराकका एक चेपाङले ६० हजारको लोभले १५ वर्ष जेल जीवन बिताउनु प¥यो । जेल जीवन त पूरा भयो तर आफ्नो जीवनका बाँकी समय पनि उहाँका पश्चाताप र नैराश्यतामा बितेका छन् ।

पुख्र्यौली सम्पत्ति भएकाले परिवारको विछोड त भएन सुख र चैन भने परिवारमा कहिल्यै मिलेन । राप्ती नगरपालिका–१० कोराकका ५९ वर्षीय वीरबहादुर प्रजा (चेपाङ) ४१ वर्षको उमेरमा दुर्लभ एकसिङ्गे गैँडाको खाग तस्करी मुद्दामा पक्राउ पर्नुभयो । तीन वर्षअघि आफ्नो १४ वर्ष आठ महिना जेल जीवन बिताएर घर फर्किएका प्रजाले आफ्नै घरमा व्यवसाय थालेका छन् ।

जिल्लाको पहाडी क्षेत्रमा पर्ने कोराकको समिटारको उनको निवासमा पुग्दा उनी काममा व्यस्त थिए । घरमै मदिरा पसल शुरु गरेका प्रजाले छुट्टै कोठामा आफ्ना बेदना पोख्दै गर्दा उनका आँखा आँशुले रसाएका थिए । विगतको जेलजीवन र त्यसपछिका उनका दिन त्यति सुखी र खुशी छैनन् ।
चितवन, काठमाडौँ, वीरगञ्ज र पोखराका कारागारमा बस्दाको समय सम्झँदै उनले भने, ‘रगतको आँशु बगाएर जेल जीवन पार गरेँ, यो कुकर्ममा जार पनि नलागोस् र जेल जान नपरोस् ।’

त्यसो त उनी ६० हजार पाउने लोभमा फसे । घिसिङ थरका एक व्यक्तिसँगै दुर्लभ एकसिङ्गे गैँंडा शिकारका क्रममा भरिया बनेर निकुञ्ज पुगे । तस्कर टोलीको भरियाको काम गरे ।
काम फत्ते भएमा ६० हजार पाउने लोभ उनलाई दिइयो । दुई पटक गरेर १५ हजार मात्रै पाएको उनी बताउँछन् । त्यही बीचमा २०५९ सालतिर घिसिङ समातिएको र उसैका कारण आफू पक्राउ परेको उनको भनाइ छ ।

पक्राउ पर्ने थाहा पाएपछि लुक्न भारत जाने भन्दै पर्साको ठोरी पुगेका प्रजा त्यहाँबाट पारी जान सकेनन् । दुई महिनाको आवतजावतपछि ठोरीबाट पक्राउ परे । २०५८ तिर भरियाको काम गरेको स्मरण गर्दै उनले भने, ‘रासनपानी बोकेर पैसा पाइन्छ भनेपछि यो कुकर्ममा लागियो ।” राप्ती नदी तरेर जङ्गलमा बस्दै गर्दा पक्राउ परेर कारवाहीमा परिन्छ भन्ने थाहा भए पनि लुकेर बचिन्छ भन्ने लागेर यस्तो कार्यमा लागेको प्रजा बताउँछन् ।
त्यतिबेलाको ६० हजार धेरै हुने र आर्थिक अभावले गर्दा यो कुकर्ममा लागेको उनको भनाइ छ । त्यति बेलाका साथी दौतरीका गाउँमा घर बनेका छन् कतिपयको शहरमा घरसँगै गाडी रहेको सुनाउँदै उनले आफ्नो अवस्थालाई आफैले हेर्दा लाज भएको दुखेसो गरे । उनले भने, ‘उमेर पनि फालियो, समय पनि बित्यो, केही गर्न पनि सकिएन ।”

आँखाभरी आँशु पार्दै उनले जीवनको पहिलो र अन्तिम भूल यही नै भएको सुनाए । बाबुको एकमात्रै सन्तान प्रजाले बाबुले जोडको दुई बिघा पाँच कठ्ठा जग्गामध्ये बिक्री गरेर अहिले एक बिघाहा आठ कठ्ठा मात्रै बाँकी छ । जेलबाट छद्दै गर्दा निकुञ्जमा रु चार लाख जरिवानासँगै वकिल र आउजाउलगायतका खर्चमा नौ लाखभन्दा बढी सक्किएको उनको भनाइ छ । ‘मान्छेले गरेका गलत काम ढिलो छिटो बाहिर आउँछ,’ उनले भने ।
जेल जीवनपछि समाजमा बाच्न पनि कठिन सङ्घर्ष गरिरहनु परेको उनले गुनासो गरे । “अगाडिबाट नभने पनि गैंँडा चोर्न गएछ, १५ वर्ष जेल बसेर फर्किएको छ भनेर भन्छन्,’ उनले भने, ‘चोरीमा गएको पनि हो, जेल पनि बसेकै हो, तर तारन्तर भनिरहँदा दिक्क लाग्छ ।’

भूकम्प प्राधिकरण र चेपाङ आवास कार्यक्रमले भत्किएको घर बनाईदिएपछि त्यही घरमा उनले व्यवसाय शुरु गरेका छन् । जग्गा धितो राखेर २० लाख ऋण लिएर व्यवसाय थालेका प्रजा विगतलाई भुल्ने प्रयास गर्दै भेट हुनेहरुलाई आपराधिक गतिविधिमा नलाग्न र संरक्षणमा जुट्न सुझाव दिन्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *