मुख्य समाचार

राष्ट्रिय परिचयपत्रका लागि ७५ लाख बढिले विवरण टिपाए

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करिब ७५ लाख नागरिकको वैयक्तिक तथा जैविक विवरण प्राप्त भइसकेको जानकारी दिएको छ ।

विभागका महानिर्देशक तिर्थराज भट्टराईका अनुसार देशभरका सबै जिल्ला प्रशासन कार्यालयदेखि इलाका प्रशासन कार्यालयबाट समेत विवरण संकलनको काम भइरहेको भन्दै अहिलेसम्म करिब ७५ लाख बढिको विवरण आइसकेको जानकारी दिएका हुन् ।

परिचयपत्रका लागि देशव्यापी अभियान चलाइरहेको भन्दै उनले भने,‘७५ लाख डाटा जिल्ला प्रशासन र इलाकाबाट मात्रै आउँदैन । अहिलेसम्म हामीले घरदैलो र वडा तहमा नै डाटा लिइरहेका छौँ । वडा तहमा हामी अहिलेसम्म ३३ वटा जिल्लामा अभियान सकिएको छ । १३ वटा जिल्लामा अभियान चालू छ ।’

विभागले अहिले मुख्यमा रुपमा तिन वटा काम गरिरहेको महानिर्देशक भट्टराईले जानकारी दिए । परिचयपत्र वितरण, घटना दर्ता र सामाजिक सुरक्षालाई प्राथमिकता दिएर काम गरिरहेको उनले बताए ।

उनले परिचयपत्र वितरणलाई व्यवस्थित बनाउन सिष्टम सुधार गर्न थालेको समेत बताए । उनले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सेवाग्राहीका लागि ललितपुरमा कार्यालय खोलेको जानकारी दिए ।

एक नम्बर प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका नागरिकले राहदानी बनाउन जरुरी पर्दा नारायणहीटी जान सक्ने व्यवस्था मिलाइएको समेत बताए । बागमती प्रदेशका नागरिकले काठमाडौँमा बनाउन सक्ने भन्दै उनले तत्काल आवश्यक रहेका नागरिकले मात्रै परिचयत्रका लागि आवेदन दिन सुझाव समेत दिए । जिल्ला जिल्लामा अभियान चलिरहेको भन्दै तत्काल आवश्यक नपर्नेले अभियानकै क्रममा नाम टिपाउन सक्ने समेत बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *