मुख्य समाचार

संसद अधिवेशन शुरु हुँदै, ६ वटा अध्यादेश पेश हुने

काठमाडौं । मंगलबारबाट शुरु हुने प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा ६ वटा अध्यादेश पेस हुने भएका छन् ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको मंगलबारको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाणले तिन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले एक र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडुले दुईवटा अध्यादेश पेस गर्नेछन् ।

संसदको हिउँदे अधिवेशन मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको छ । गृहमन्त्री खाणाले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा घातक रसायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गर्नेछन्।

मंगलबारको बैठकमा रेल्वे अध्यादेश, २०७८, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पेस गर्ने कार्यसूची राखिएको छ ।

सरकारले अध्यादेश पेश गर्ने तयारी गरेको भएपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसद अवरोेध कायमै राख्ने संकेत गरेको छ । यसअघि संसदको बजेट अधिवेशनका सबै बैठक एमालेले अवरुद्ध गरेको थियो । एमालेको निरन्तरको अवरोधका कारण नेपालकै इतिहासमा सरकारले ढुकुटीबाट पैसा गर्न नपाउने अबस्था बनेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *