काठमाडौं । भारतमा शनिबारदेखि कोरोना भाइरसविरुद्धको भ्याक्सिन सुरु भएको छ । पहिलो दिन नै झन्डै दुई लाखले भ्याक्सिन लगाएका छन् । भारतले कोभिसिल्ड र भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन लगाउन अनुमति दिएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कारोनाविरुद्धको खोप अभियानअन्तर्गतको पहिलो दिन शनिबार एक लाख ९१ हजारभन्दा धेरैले खोप लगाएका छन् ।
हिजो ३ हजार ३ सय ५१ केन्द्रबाट कोभ्यासिक्न र कोभिसिल्ड दुवै खोप दिइएको थियो । कोरोना विरुद्धको खोप लगाएपछि केहीलाई एलर्जी भएको बीबीसीले जनाएको छ । खोप लगाएकामध्ये ५२ जनालाई साइड इफेक्ट देखिएको छ ।
भारतले पहिलो चरणमा प्राथमिकतामा परे अनुसार डाक्टर, स्वास्थ्यकर्मी र सरसफाईका कर्मचारीलगायत अंग्रपक्तिमा काम गर्नेलाई खोप दिइन थालेको जनाएको छ । भारतमा अहिलेसम्म एक करोड पाँच लाखभन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण भएको छ । अहिलेसम्म एक लाख ५२ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।




