देश

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

असार १९ मंगलबार : संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभर घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
हेर्नुहोस संकल्प खबरका १० मुख्य समाचार

संसदीय समितिको नेतृत्व छिटै चयन गर्ने सहमति

काठमाडौं । प्रमुख तीन दलबीच संसदीय समितिको सभापति छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको छ । मंगलबार बिहान सिंहदरबारमा बसेको सभामुखसहितको बैठकमा संसदीय समितिका सभापति चयन गर्ने सहमति भएको हो ।

कानूनमन्त्री धनराज गुरुङले तीन दलबीच छिटोभन्दा छिटो संसदीय समितिका सभापति चयन गर्ने सहमति भएको जानकारी दिए । उनका अनुसार बैठकमा संक्रमणकालीन न्याय र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक अघि बढाउने पनि समझदारी भएको छ ।


राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले बेहोर्ने
। राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।

परराष्ट्र मन्त्रालयले राष्ट्रपतिको उपचार खर्च निकासा गर्न अर्थ मन्त्रालयलाई दिएपछि अब सो रकम सरकारले बेहोर्ने भएको हो । राष्ट्रपति पौडेलको भारतमा उपचार गर्दा ५५ लाख दुई हजार २७९ खर्च भएको र सो निकासी गरिदिन परराष्ट्रले अर्थलाई स्वीकृति दिएको छ ।


सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगको म्याद थप

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद आगामी पुससम्म थप गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको हो ।

नेसपाको “अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प”पूर्ण पाठ सार्वजनिक

नेपाल समाजवादी पार्टीले सबै स्थानीय तहसम्म संगठनात्मक सञ्जाल विस्तार गर्ने भएको छ । पार्टीलाई वैचारिक रुपमा नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी विकल्पको रुपमा स्थापित गर्ने मंगलबार सार्वजनिक पूर्ण पाठमा उल्लेख गरिएको छ ।

उक्त अभियान २०८० असार बाट सुरुभई पुस मसान्तसम्म सञ्चालन हुने जनाएको छ । पार्टी, नेता–कार्यकर्ताहरुको सैद्धान्तिक एवम बैचारिक स्तर अभिवृद्धि गर्ने, तत्कालीन जनसरोकारका विषय र निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली तथा पहिचान सहितको संघीयताको एजेण्डालाई सडक, सदन र सरकारमा सशक्त रुपमा उठाउने नेसपाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।


नेपालको कर प्रणालीमा गुगल, फेसबुक, माइक्रोसफ्टलगायत छ कम्पनी दर्ता

सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्टलगायतका छ वटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन् ।

नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत सरकारले विद्युतीय सेवा कर ९डिजिटल सर्भिस ट्याक्स० सम्बन्धी व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार हालसम्म छवटा विदेशी कम्पनी दर्ता हुन आएको ठूला करदाता कार्यालयका कर अधिकृत साधुराम पुडासैनीले जानकारी दिए ।

क्यानका महानिर्देशक अधिकारीलाई मन्त्री किरातीले गरेनन् कारबाही

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई कारबाही गरेका छैनन् । गत असार ११ गते मन्त्रि किँरातीले नौ बुँदे स्पष्टीकरणको सात दिने म्याद दिएपनि आजबाट उक्त म्याद सकिएको छ । महानिर्देशक अधिकारीले अन्तिम दिनसम्म सामाजिक संजालमार्फत स्पष्टीकरण सोधिएको र कारबाही भोग्न तयार हुने तर जवाफ नपठाउने अडानमा बसेका छन् ।

अन्तिमसम्म महानिर्देशक अधिकारीले जवाफ नपठाएपछि मंगलबार दिउँसो कानुन बमोजिम कारबाही गर्ने मन्त्रि किराँतीले बताएका थिए ।


मीनबहादुर गुरुङसहितको बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्न नभ्याइने’सुचिमा

ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको रिट निवेदन मंगलबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ मा परेको छ ।

मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ भन्दै अर्को दिनलाई सारेको हो ।

शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा। कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो ।

एमालेद्धारा लुम्बिनीमा बजेटमाथिको छलफल बहिष्कार

काठमाडौं । नेकपा एमालेले राजनीतिक पूर्वाग्रहका आधारमा क्रमागत योजनामा बजेट कटौती गरेको र निर्देशनालयहरु खारेज गरेको भन्दै बजेटमाथिको छलफल बहिष्कार गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमाथि छलफलका लागि बोलाइएको बैठक मंगलबार एमालेले बहिष्कार गरेको हो । प्रदेशसभा बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु विरोध जनाएका थिए । विरोधपछि आक्रोसमा आएरएमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बजेट पुस्तिका नै च्यातेका थिए ।


बालुवाटार जग्गा प्रकरण : ९ जनालाई ७ दिन थुनामा राख्न अनुमति
बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमाम नौजनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौं जिल्ला अदालतले नौजना आरोपीलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।


साउन पहिलो साता मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक

नेपाल राष्ट्र बैंक साउन पहिलो साता आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा छ । राष्ट्र बैंकले यस वर्ष पनि विदेशी मुद्राको सञ्चिती बढाउने र महँगी नियन्त्रण गर्ने दबाबका बीच मौद्रिक नीति ल्याउने तयारी गरेको हाे ।

निजी क्षेत्रले कर्जाको ब्याजदर सस्तो बनाउँदै बजार चलायमान बनाउने मौद्रिक नीति आउने अपेक्षा गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *