
काठमाडौं । काठमाडौं महानगरपालिकाले ३५ वटा एम्बुलेन्स खरिद गर्दा ठुलो भ्रष्टाचार भएको दाबी गर्दै मेयर बालेन्द्र शाह (बालेन), उनका सचिव भुपदेव साह र अन्य कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
उजुरीकर्ताले सी–०४०५६९ नम्बरमा दर्ता गराइएको निवेदनमार्फत एम्बुलेन्स खरिद प्रक्रिया सुरुदेखि नै नियतबस अनियमित गरिएको आरोप लगाएका छन्। उक्त उजुरीमा भनिएको छ कि बालेनको निर्देशनमा भुपदेव साहको नेतृत्वमा पश्चिम नेपालका स्थानीय तहहरूलाई एम्बुलेन्स वितरण गर्ने योजना बनाइयो र त्यसअन्तर्गत खरिदको प्रारम्भिक चरणमै भ्रष्टाचारको मनसाय देखिएको छ।
उजुरीमा विशेष आरोप लगाइएको छ कि सचिव भुपदेव साहले एक गाडी कम्पनीसँग स्कर्पियो गाडी ‘घुस’ स्वरूप लिने सहमति गरेका थिए र त्यस अनुसार नै खरिद प्रक्रिया अगाडि बढाइएको हो। सामान्यतया सामान आएपछि मात्र भुक्तानी दिने सरकारी प्रावधान विपरीत, कम्पनीले सुरुमै भुक्तानी माग्दा पनि महानगरले स्वीकारेको भन्दै प्रक्रिया नै कानुनविपरीत भएको दाबी गरिएको छ।
ललितपुर महानगरबाट काठमाडौं सरुवा भएका रामरतन शाहलाई खरिद इकाइको नेतृत्व दिन ठेकेदारहरूसँगको मिलेमतोमा घुस दिइएको र उनले मूल्यांकन प्रक्रिया दोहोर्याएर महानगरलाई १ करोड २५ लाखभन्दा बढीको आर्थिक क्षति पुर्याएको आरोप पनि उजुरीमा छ।
उजुरीकर्ताले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार दोषीहरूमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्। साथै, एम्बुलेन्स खरिदमा संलग्न मूल्यांकन समिति सदस्यहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरिएको छ।
महानगरले चालु आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत ३५ वटा एम्बुलेन्स विभिन्न गाउँपालिकालाई दिने घोषणा गरेको थियो। अब उजुरीपछि अख्तियारले यस विषयमा औपचारिक छानबिन थाल्ने या नथाल्ने भन्ने चासोको विषय बनेको छ।