देश

विश्वका तीन संकटसँग जुध्न युवा तयार हुनुपर्छ: नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विश्वले सामना गरिरहेका तीन प्रमुख संकटसँग जुध्न युवा पुस्ता तयार हुनुपर्नेमा जोड दिएका छन्।

कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका महरले राष्ट्रिय युवा परिषद्द्वारा आयोजित ‘युथ भिजन २०३५ मा युवा सरोकार’ विषयक नीतिगत छलफललाई सम्बोधन गर्दै उक्त विचार व्यक्त गरेका हुन्।

उनले भने, ‘जैविक विविधताको विनाश, जलवायु परिवर्तन र प्रदूषण विश्वले बेहोरिरहेका तीन ठूला संकट हुन्। यदि यी तीन विषयको सन्तुलनमा ध्यान दिइएन भने भविष्यमा विश्वले गम्भीर महासंकटको सामना गर्नुपर्ने हुनसक्छ। त्यसैले विश्वले यी विषयमा सन्तुलन कायम राख्न तत्काल विश्वव्यापी नीति निर्माण गर्नु आवश्यक छ। युवा पुस्ता यो संकटसँग जुध्न पूर्ण रूपमा सचेत हुनुपर्छ।’

प्राकृतिक र जैविक विविधताको सन्तुलन अहिलेको आवश्यकता भएको उनको ठहर छ। ‘जनसंख्या वृद्धिका कारण जैविक विविधतामा ह्रास आइरहेको छ। औद्योगिकीकरणले जलवायु परिवर्तन भइरहेको छ। यसले जमिन, वायु, जललगायत सम्पूर्ण क्षेत्र प्रदूषित भइरहेको छ। यसले नेपाल मात्र नभई विश्वभर नै महासंकट निम्त्याउन सक्ने आँकलन गरिएको छ। त्यसकारण यससँग लड्न युवालाई दिइने शिक्षा पनि यसैमा आधारित हुनुपर्छ,’ महरले भने। नेपालका युवाका लागि ल्याइएको शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा र युवा स्वरोजगार कार्यक्रमले अपेक्षित परिणाम नदिँदा अन्योलता थपिएको महरको भनाइ छ।

युवाले नागरिक विज्ञानको रूपमा प्राकृतिक संकटसँग जुध्न भूमिका निर्वाह गर्नुपर्ने र विज्ञान तथा प्रविधिको उचित ज्ञानले सुसज्जित हुनुपर्ने महरले औंल्याए। युवाले आफ्नो र भावी सन्ततिको भविष्यका लागि समाजमा सचेतना फैलाउनुपर्ने र स्वयं सक्रिय हुनुपर्नेमा उनले जोड दिए।

नेपालले निर्माण गर्न लागेको युथ भिजन २०३५ ले यस्ता संकटसँग जुध्न स्पष्ट मार्गचित्र कोर्नुपर्ने उनको धारणा छ।

‘अबको युवालाई प्रविधिमैत्री बनाउनुपर्छ। जिएन्जी पुस्तालाई सक्षम बनाउन सरकारको नीति तथा कार्यक्रममा आएको ‘बढ्दै पढाउँदै’ अवधारणालाई समेत कार्यान्वयन गर्नुपर्छ,’ उनले भने।

युवाका लागि आवश्यक खेलकुद, शिक्षा, स्वास्थ्य, रोजगारी र मनोरञ्जनको व्यवस्था राज्यले गर्नुपर्ने महरले बताए। युवा पनि राष्ट्रप्रेमले ओतप्रोत हुन आवश्यक रहेको उनले औंल्याए। ‘समय निरन्तर परिवर्तन भइरहेको छ। आधुनिकीकरण बढ्दो छ। युवालाई सोहीअनुरूपको शिक्षा दिँदै विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन प्रेरित गर्नुपर्छ। साथै, उनीहरूलाई वातावरणीय सन्तुलनमा पनि प्रेरित गर्नुपर्छ,’ महरले भने।

उनले पाठ्यक्रम युवामैत्री हुनुपर्ने बताएका छन्। विश्वमा व्याप्त समस्या समाधानमा युवाले कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने ज्ञान पाठ्यक्रममै समावेश हुनुपर्नेमा महरले जोड दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *