देश

विश्वप्रसिद्ध वातावरण अभियन्ता ग्रेटा थुनबर्ग भन्छिन्, जलवायुको प्रभावले नेपालमा पारेको क्षेतीप्रति विश्व समुदायले राहत दिनुपर्छ

काठमाडौं । विश्वप्रसिद्ध स्विडेनी जलवायु अभियन्ता ग्रेता थुनबर्गले जलवायु परिवर्तनको असरबाट गम्भीर क्षति व्यहोर्न बाध्य नेपालजस्ता मुलुकप्रति अन्तर्राष्ट्रिय समुदायले विशेष जिम्मेवारी लिनुपर्ने धारणा राखेकी छन्। नेपालमा हालै देखिएका विनाशकारी बाढी, पहिरो र प्राकृतिक विपत्तिलाई जलवायु सङ्कटसँग जोड्दै उनले प्रभावित राष्ट्रलाई सामान्य राहत सहयोग मात्र पर्याप्त नहुने, जलवायु क्षतिको क्षतिपूर्तिसमेत उपलब्ध गराउनुपर्नेमा जोड दिएकी छन्। उनले सामाजिक संजाल फेसबुक,युट्युब र इस्ट्राग्राममा आफ्ना धारणा सार्वजनिक गर्दै यस्तो बताएकी हुन् ।

विश्वभर जलवायु न्यायका लागि निरन्तर आवाज उठाउँदै आएकी थुनबर्गको यस्तो तर्क छ – जलवायु परिवर्तनको असर सबैभन्दा बढी ती देशहरूले भोगिरहेका छन्, जसको औद्योगिक प्रदूषण र कार्बन उत्सर्जनमा योगदान न्यून छ। नेपाल पनि त्यस्तै मुलुकमध्ये एक हो, जहाँ हिमाल पग्लिने, अनियमित वर्षा हुने, बाढीपहिरो बढ्ने तथा प्राकृतिक विपत्तिका घटना तीव्र बन्दै गएका छन्।

नेपालजस्ता विकासोन्मुख तथा हिमाली राष्ट्रले जलवायु परिवर्तनका कारण असमान रूपमा ठूलो मूल्य चुकाइरहेको थुनबर्गको धारणा छ। धनी तथा औद्योगिक राष्ट्रहरूले विगतमा गरेको अत्यधिक कार्बन उत्सर्जनको परिणाम अहिले गरिब र कम विकसित मुलुकहरूले भोग्नुपरेको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारीमाथि प्रश्न उठाएकी छन्।

उनको अभियानको मुख्य सन्देश नै जलवायु सङ्कट केवल वातावरणीय समस्या नभएर आर्थिक, सामाजिक र नैतिक न्यायसँग जोडिएको विषय हो। त्यसैले नेपालमा आएको विपत्तिपछि मानवीय राहत उपलब्ध गराउनु मात्र पर्याप्त नभई दीर्घकालीन पुनर्निर्माण, क्षतिपूर्ति तथा जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उनको भनाइ छ।

ग्रेता थुनबर्गले सन् २०१८ मा केवल १५ वर्षको उमेरमा स्विडेनको संसद् भवनबाहिर एक्लै विद्यालय हडताल सुरु गरेकी थिइन्। जलवायु परिवर्तन नियन्त्रणका लागि सरकारहरूले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै सुरु भएको उनको अभियानले केही समयमै विश्वव्यापी रूप लियो।

उनकै पहलपछि ‘फ्राइडेज फर फ्युचर’ अभियान विश्वका विभिन्न देशमा फैलियो। लाखौँ विद्यार्थी तथा युवाहरू प्रत्येक शुक्रबार सडकमा उत्रिएर जलवायु न्यायको माग गर्न थाले। एक किशोरीको व्यक्तिगत विरोधबाट सुरु भएको अभियान अन्तर्राष्ट्रिय जलवायु आन्दोलनमा परिणत भएपछि ग्रेता विश्वकै प्रभावशाली युवा अभियन्तामध्ये एक बन्न सफल भइन्।

शक्तिशाली राष्ट्रलाई सीधा प्रश्न

थुनबर्ग आफ्नो निर्भीक र स्पष्ट अभिव्यक्तिका कारण पनि परिचित छिन्। संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलनमा विश्वका शक्तिशाली नेताहरूलाई लक्षित गर्दै उनले दिएको ‘हाउ डेयर यू’ भन्ने अभिव्यक्ति विश्वभर चर्चित बनेको थियो। उनले बारम्बार विश्वका ठूला अर्थतन्त्र र औद्योगिक राष्ट्रमाथि जलवायु परिवर्तन नियन्त्रणका लागि पर्याप्त काम नगरेको आरोप लगाउँदै आएकी छन्। राजनीतिक भाषण र प्रतिबद्धताभन्दा व्यवहारिक कार्यान्वयन आवश्यक रहेको उनको माग रहँदै आएको छ।

नेपालजस्ता हिमाली राष्ट्र बढी जोखिममा

नेपालको भौगोलिक अवस्था जलवायु परिवर्तनका दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। हिमनदी पग्लिने, हिमताल फुट्ने जोखिम बढ्ने, असामान्य वर्षा, बाढीपहिरो तथा खडेरीजस्ता समस्याले नेपाली जनजीवनमा प्रत्यक्ष असर पुर्‍याइरहेका छन्। यस्तो अवस्थामा ग्रेता थुनबर्गले उठाएको जलवायु न्यायको मुद्दा नेपालका लागि पनि महत्वपूर्ण बनेको छ। जलवायु परिवर्तनमा न्यून योगदान भए पनि यसको असर अत्यधिक भोग्नुपरेको नेपालले अन्तर्राष्ट्रिय मञ्चमा क्षतिपूर्ति र जलवायु वित्तको विषयलाई अझ प्रभावकारी रूपमा उठाउनुपर्ने आवश्यकता देखिएको छ।

‘कमजोरी होइन, मेरो शक्ति’

ग्रेता थुनबर्गले आफूलाई एस्पर्जर्स सिन्ड्रोम भएको विषय पनि सार्वजनिक रूपमा बताउँदै आएकी छन्। उनले यस अवस्थालाई कमजोरीका रूपमा नभई आफ्नो उद्देश्यमा केन्द्रित रहन सहयोग गर्ने विशेष शक्तिका रूपमा व्याख्या गर्ने गरेकी छन्। उनको यही दृढता, स्पष्टता र निरन्तर अभियानले उनलाई विश्वभरका युवा पुस्ताको प्रेरणाको स्रोत बनाएको छ।

नेपालमा बाढी, पहिरो र जलवायुजन्य विपत्तिले जनधनको ठूलो क्षति पुर्‍याइरहेका बेला ग्रेता थुनबर्गको सन्देशले अन्तर्राष्ट्रिय समुदायलाई थप गम्भीर प्रश्न उठाएको छ–के नेपालले हरेक विपत्तिपछि केवल राहतको प्रतीक्षा गर्ने, वा जलवायु परिवर्तनबाट भएको क्षतिको न्यायपूर्ण क्षतिपूर्ति पाउने अधिकार पनि राख्ने ?

जलवायु सङ्कटको प्रभाव सीमाना हेरेर नआउने भए पनि यसको भार भने समान रूपमा बाँडिएको छैन। यही असमानताको अन्त्यका लागि थुनबर्गले विश्व समुदायसँग आवाज उठाउँदै आएकी छन्। नेपालका लागि पनि अब प्रश्न केवल विपत्तिपछि राहत जुटाउने मात्र होइन, जलवायु परिवर्तनको वास्तविक मूल्य कसले तिर्ने भन्ने हो। ग्रेताको सन्देश यहीँ केन्द्रित देखिन्छ—जलवायु संकटबाट पीडित राष्ट्रलाई सहानुभूति होइन, न्याय चाहिन्छ।

https://www.facebook.com/indepthstorynepal/posts/climate-activist-greta-thunberg-has-called-for-climate-reparations-and-accountab/1377302174511405/

 

https://www.facebook.com/reel/1053482310796216

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *