काठमाडौं । नेपालको राजनीतिमा युवा नेतृत्वको चर्चा नयाँ होइन, तर सत्ता सञ्चालनको जिम्मेवारी युवा पुस्ताको काँधमा पुगेपछि जनताको अपेक्षा भने असाधारण रूपमा बढ्छ । पुराना राजनीतिक अनुहार र परम्परागत शैलीबाट निराश बनेका नागरिकले नयाँ सोच, नयाँ ऊर्जा र परिणाममुखी नेतृत्वको खोजी गरिरहेका हुन्छन् । यही अपेक्षाको केन्द्रमा थिए प्रधानमन्त्री बालेन्द्र शाह । तर सरकार सञ्चालनको केही समयपछि नै नागरिक समाजमा एउटा प्रश्न तीव्र रूपमा उठ्न थालेको छ–देशले आखिर कस्तो युवा प्रधानमन्त्री पायो ?
एकातिर बालेनलाई पुरानो राजनीतिक संस्कृतिविरुद्धको विद्रोही अनुहारका रूपमा प्रस्तुत गरिन्छ । अर्कोतर्फ उनीमाथि संस्थागत जिम्मेवारीभन्दा व्यक्तिगत शैलीलाई प्राथमिकता दिएको आरोप पनि लागिरहेको छ । यही द्वन्द्वले उनको नेतृत्वलाई अहिले प्रशंसा र आलोचनाको बीचमा उभ्याएको छ ।
युवा प्रधानमन्त्रीप्रति जनताको पहिलो अपेक्षा थियो– निर्णय क्षमता, पारदर्शिता र प्रभावकारी शासन । पुराना नेताहरूको जस्तो लामो भाषण होइन, कामबाट परिणाम दिने नेतृत्वको खोजीमा जनता थिए । प्रारम्भिक चरणमा बालेनले त्यही सन्देश दिन सफल पनि देखिए । परम्परागत राजनीतिक भाषाभन्दा फरक प्रस्तुति, सामाजिक सञ्जालमार्फत प्रत्यक्ष संवाद र केही साहसी निर्णयले उनको लोकप्रियता चुलिएको थियो ।
तर समयसँगै अपेक्षा र वास्तविकताबीचको दूरी देखिन थालेको छ । सरकारका प्राथमिकता के हुन् रु दीर्घकालीन योजना के छ रु राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीको स्पष्ट धारणा के हो रु यस्ता प्रश्नहरूको जवाफ अझै अस्पष्ट रहेको टिप्पणी बढ्न थालेको छ ।
मौनता कि नेतृत्व शैली ?
हालै गणतन्त्र दिवसजस्तो राष्ट्रिय महत्वको कार्यक्रममा प्रधानमन्त्री आफैंले सम्बोधन नगर्ने निर्णयले नयाँ बहस जन्माएको छ । समर्थकहरू यसलाई परम्पराभन्दा संस्थागत प्रक्रियालाई महत्व दिने कदमका रूपमा व्याख्या गर्छन् । तर आलोचकहरू भने राष्ट्रिय अवसरमा नेतृत्वको उपस्थिति र सन्देश आवश्यक हुने तर्क गर्छन् ।
राजनीतिमा कहिलेकाहीँ मौनता पनि रणनीति हुन सक्छ । तर निरन्तर मौनता नेतृत्वको कमजोरीका रूपमा बुझिन थाल्यो भने त्यसले विश्वासमा असर पार्छ । विशेषगरी राष्ट्रिय संकट, संवेदनशील राजनीतिक बहस वा जनचासोका विषयमा प्रधानमन्त्रीको स्पष्ट धारणा अपेक्षित हुन्छ ।
सामाजिक सञ्जालमा लोकप्रिय हुनु र राज्य सञ्चालन गर्नु फरक कुरा हुन् । चुनाव जित्दा काम लाग्ने शैली सत्तामा पुगेपछि सधैं प्रभावकारी नहुन सक्छ । शासन प्रणाली संस्था, कानुन, समन्वय र दीर्घकालीन नीतिको आधारमा चल्छ । त्यसका लागि केवल लोकप्रिय छवि पर्याप्त हुँदैन ।
अहिले पनि धेरै नागरिक बालेनलाई वैकल्पिक राजनीतिका प्रतिनिधिका रूपमा हेर्छन् । तर त्यही वर्गभित्रबाट समेत प्रश्न उठ्न थालेको छ— लोकप्रियताले मात्र देश चल्छ कि परिणाम पनि देखिनुपर्छ रु यदि जनताले प्रत्यक्ष अनुभूति गर्ने परिवर्तन नआए भने युवा नेतृत्वप्रतिको भरोसा कमजोर हुन सक्छ ।
वर्तमान अवस्थामा संवैधानिक आयोगहरूमा रिक्त पद, सरकारी सेवा प्रवाहमा देखिएका समस्या, स्वास्थ्य क्षेत्रको अव्यवस्था र युवाको रोजगारी संकटजस्ता विषयमा सरकारको सक्रियता अपेक्षाकृत कमजोर देखिएको आलोचना भइरहेको छ । यस्ता मुद्दामा प्रधानमन्त्रीको प्रत्यक्ष चासो र स्पष्ट कार्ययोजना सार्वजनिक नहुँदा अन्योल बढेको छ । विशेषगरी वैदेशिक रोजगारीको प्रतीक्षामा रहेका युवा, सरकारी अस्पतालमा सेवा नपाएर सास्ती भोगिरहेका नागरिक र प्रशासनिक सुधारको अपेक्षा गरेका वर्गले सरकारको कार्यसम्पादनलाई नजिकबाट नियालिरहेका छन् ।
घमण्ड कि आत्मविश्वास ?
प्रधानमन्त्रीमाथि लाग्ने अर्को आरोप हो- आलोचनाप्रति असहज हुने र आफूलाई मात्र सही ठान्ने प्रवृत्ति । समर्थकहरू यसलाई दृढ आत्मविश्वास भन्छन् भने आलोचकहरू बढ्दो अहंकारको संकेत मान्छन् । लोकतान्त्रिक नेतृत्वको शक्ति आलोचना सुन्न सक्ने क्षमतामा हुन्छ । जनताको मतबाट निर्वाचित नेतृत्वले असहमतिको आवाजलाई पनि सम्मान गर्नुपर्छ । यदि नेतृत्व आलोचनाबाट टाढा रहन खोज्छ भने लोकप्रियता विस्तारै एक्लोपनमा बदलिन सक्छ ।
बालेनको राजनीतिक यात्रा अझै प्रारम्भिक चरणमै छ । त्यसैले उनको नेतृत्वलाई पूर्ण रूपमा सफल वा असफल घोषणा गर्ने समय भइसकेको छैन । तर जनताको धैर्य अनन्त हुँदैन । युवाले परिवर्तनको सपना देखाएर सत्तामा पुगेपछि परिणाम पनि त्यत्तिकै छिटो देखाउनुपर्ने दबाब हुन्छ । आज नागरिकको मनमा रहेको प्रश्न केवल प्रधानमन्त्री बालेन्द्र शाहबारे मात्र होइन, समग्र युवा नेतृत्वको क्षमताबारे पनि हो । यदि उनले अपेक्षित परिणाम दिन सके भने नेपालको राजनीतिमा नयाँ अध्याय लेखिन सक्छ । तर यदि लोकप्रियता, मौनता र विवादकै घेरामा सीमित रहे भने जनताले खोजेको परिवर्तन फेरि अर्को आशामा सर्न सक्छ ।
अहिले देशभरि धेरै नागरिकको मनमा एउटै जिज्ञासा छ-हामीले साँच्चै परिवर्तनकारी युवा प्रधानमन्त्री पाएका हौं, कि केवल नयाँ अनुहारमा पुरानै राजनीतिक प्रवृत्ति देखिरहेका छौं रु यही प्रश्नको उत्तर अब प्रधानमन्त्रीका आगामी निर्णय र कार्यसम्पादनले दिनेछ ।




