पोखरा । लामो प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ। फ्लाइ दुबईले आगामी असोज ७ गते (सेप्टेम्बर २३) देखि पोखरा–दुबई नियमित उडान सञ्चालन गर्ने भएको हो।
दुबईबाट आएको फ्लाइ दुबईको जहाज असोज ७ गते साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने कार्यतालिका छ। विमानस्थलमा पानीको फोहोरा तथा विशेष स्वागत कार्यक्रमसहित यात्रु र जहाजलाई स्वागत गर्ने तयारी गरिएको छ। पोखराबाट सोही जहाज साँझ ७ः१५ बजे दुबईका लागि उड्नेछ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार फ्लाइ दुबईले एयरबस ३१९ र ३२० मार्फत उडान गर्नेछ। एयरबस ३१९ मा करिब १४० देखि १५० तथा एयरबस ३२० मा १६० देखि १८० यात्रु अट्ने क्षमता छ।
“फ्लाइ दुबईले आवश्यकताअनुसार एयरबस ३१९ र ३२० आलोपालो गरी उडाउनेछ,” रावतले भने, “पहिलो उडानमा पोखरा आउने यात्रुको सङ्ख्या उल्लेख्य छ। पोखराबाट दुबई फर्कँदा यात्रुसँगै कार्गो पनि लगिनेछ।”
उनका अनुसार नियमित तालिकाअनुसार फ्लाइ दुबईको जहाज हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ। पहिलो दिन भने निर्धारित समयभन्दा केहीअघि नै जहाज अवतरण हुनसक्ने जनाइएको छ।
दुबई–पोखरा–दुबई उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाइ दुबईलाई अनुमति दिएको थियो। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेपछि फ्लाइ दुबईले उडान अनुमति पाएको हो।
विमानस्थल सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा दुबईसँगको सिधा हवाई सम्पर्कले पोखरालाई विश्वको प्रमुख हवाई ट्रान्जिट हबसँग जोड्ने अपेक्षा गरिएको छ।
फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले काठमाडौंको तुलनामा पोखराबाट हुने उडानको टिकट करिब रु ५ हजारसम्म सस्तो पर्ने बताएका छन्। उनका अनुसार कम्पनीले विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान गर्दै आएको छ र पोखरा–दुबई उडान प्रवर्द्धनका क्रममा यात्रु तथा साझेदार संस्थालाई छुटलगायत सुविधा उपलब्ध गराइनेछ।
फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत यो उडान सञ्चालन हुनेछ। यसबाट पोखराबाट दुबई हुँदै अष्ट्रेलिया, युरोप, अमेरिका तथा अन्य गन्तव्यमा जाने यात्रुले एउटै टिकटमार्फत सहज रूपमा यात्रा गर्न सक्नेछन्। दुबईमा ट्रान्जिट व्यवस्थापनसमेत सहज हुने अपेक्षा गरिएको छ।
सुरुमा एक महिनाका लागि दैनिक एक उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ मार्च २६ सम्मको बुकिङ खुला गरिसकेको जनाएको छ। उडान सफल भए पोखरामा अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसमेत आकर्षित हुने विश्वास गरिएको छ।
लामो समयपछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले उडानले पोखरा हुँदै समग्र नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष लाभ पुग्ने बताए। उनका अनुसार उडानलाई दीर्घकालीन रूपमा सफल बनाउन पोखराका पर्यटन व्यवसायी एकताबद्ध भएर लाग्नेछन्।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा–दुबई उडान सफल बनाउनु सबै सरोकारवालाको साझा दायित्व भएको बताए। “पोखरालाई विश्वास गरेर फ्लाइ दुबई यहाँ आएको छ, हामी सबैले आ–आफ्नो ठाउँबाट साथ दिनुपर्छ,” उनले भने।
पोखरा महानगरपालिका र फ्लाइ दुबईबीच पर्यटन प्रवर्द्धन, गन्तव्यको बजारीकरण तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत क्षेत्रमा सहकार्य गर्ने समझदारीसमेत भएको छ।
उडानबाट गण्डकी प्रदेशसहित आसपासका नागरिकलाई दुबई हुँदै लन्डन, न्युयोर्क, टोकियोलगायत २५० भन्दा बढी गन्तव्यमा पुग्न सहज हुने अपेक्षा गरिएको छ। वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि जाने यात्रुका साथै विदेशी पर्यटकलाई समेत यसबाट लाभ पुग्नेछ।
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि विदेशी पर्यटकलाई पोखरा नै प्रवेशबिन्दु बनाएर यहाँका पर्यटकीय गन्तव्यमा पुग्न सहज हुने पर्यटन व्यवसायीको विश्वास छ। उडानलाई दिगो बनाउन सरकारी तथा निजी क्षेत्रले बजार प्रवर्द्धन र बजारीकरणमा जोड दिने बताएका छन्।
यसअघि हिमालय एयरलाइन्सले सन् २०२५ मार्चमा पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरेको थियो। यात्रु सङ्ख्या न्यून भएपछि उक्त सेवा अहिले स्थगित छ। पोखरा–दुबई उडान भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने दोस्रो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुनेछ। यसअघि चीन, भारत र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडान हुँदै आएका थिए।
नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन भएपछि काठमाडौं केन्द्रित हवाई चाप विकेन्द्रीकरणसँगै पोखराको पर्यटन, व्यापार र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।




