देश

जोखिमपूर्ण हिमतालको पानी घटाउन सरकारको तयारी, विज्ञसँग परामर्श जारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको पानीको सतह घटाएर सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न सरकारले आवश्यक तयारी अघि बढाएको बताएका छन् ।

आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए ।

उनका अनुसार जोखिमयुक्त हिमतालमा आवश्यकताअनुसार वैज्ञानिक विधिबाट पानीको निकास गर्ने तथा ब्लास्टिङमार्फत जलसतह घटाउने विकल्पबारे छलफल भइरहेको छ । विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई प्राथमिकतामा राखिएको उनले बताए ।

‘जोखिममा रहेका हिमताल ब्लास्टिङ गरेर जलसतह पास गर्नेगरी छलफल अघि बढेको छ । जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिममुक्त गर्नैपर्छ,’ मन्त्री श्रेष्ठले भने ।

यद्यपि, कुन–कुन हिमतालको पानीको सतह घटाउने भन्ने विषयमा भने अहिलेसम्म अन्तिम निर्णय भइनसकेको उनले स्पष्ट पारे । यसका लागि विज्ञहरूसँग परामर्श भइरहेको र जोखिमको मात्रा तथा अवस्थाको अध्ययनपछि निर्णय लिइने उनको भनाइ छ ।

मन्त्री श्रेष्ठका अनुसार ग्रिन क्लाइमेट फन्ड (जीसीएफ) बाट प्राप्त सहयोग परिचालन गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँगको समन्वयमा जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने काम यही वर्ष अघि बढाउने तयारी छ ।

इसिमोड र युएनडीपीको संयुक्त अध्ययनअनुसार नेपालमा २१ वटा हिमताल जोखिमयुक्त अवस्थामा छन् । तीमध्ये कोशी र गण्डकी क्षेत्रमा चार वटा हिमताल अति उच्च जोखिममा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *