देश

आज पनि प्रधानमन्त्रीको संसदमा अनुपस्थितिमा, चर्को आलोचनासँगै अघि बढ्यो नीति तथा कार्यक्रमको बहस

काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा बहस सुरु भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० बैठकमा उपस्थित नभए पनि संसद्ले बिहीबारदेखि छलफललाई अघि बढाएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बुधबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा पेश गरेका थिए । तर विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर धारणा राख्नुपर्ने र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने अडान लिएपछि बुधबारको बैठक प्रभावित बनेको थियो ।

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग आवश्यक छलफल गर्ने बताएका थिए । त्यसपछि प्रधानमन्त्री संसद्मा आउने अपेक्षा गरिए पनि बिहीबारको बैठकमा उनी अनुपस्थित नै रहे । त्यसपछि संसद्ले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गरेको हो ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विपक्षी दलहरूले ३५ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । संसद्को कार्यसूचीअनुसार आजै छलफल टुंग्याएर सरकारको तर्फबाट जवाफ दिने तयारी गरिएको छ ।

बैठक प्रारम्भ हुनुअघि विपक्षी सांसदहरूले पुनः प्रधानमन्त्रीको उपस्थितिको माग गरेका थिए । कांग्रेसका मिस्कल राई, एमालेका ऐन महर, राप्रपाकी खुस्बु ओली तथा नेकपाका युवराज दुलालले प्रधानमन्त्रीले संसद्को गरिमा बेवास्ता गरेको आरोप लगाए । उनीहरूले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै संसदीय उत्तरदायित्वमाथि बहस आवश्यक रहेको बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *