जलश्रोत/उर्जा

महसुल नतिर्ने उद्योगमाथि प्राधिकरणको कडाइ : थप १८ उद्योगको काटियो लाइन

काठमाडौं । ट्रंक र डेडिकेटेड लाइनको महसुल विवाद झन गहिरिँदै गएपछि नेपाल विद्युत् प्राधिकरणले शुक्रबार साँझ थप १८ उद्योगको विद्युत् आपूर्ति काटेको छ। अब सरकारी स्वामित्वका उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट मात्र बाँकी रहेका छन्।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार, निजी क्षेत्रका सबै विवादित उद्योगको लाइन बन्द गरिएको हो। यसअघि लक्ष्मी पूजाको भोलिपल्ट नै जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटिएको थियो।

प्राधिकरणले उद्योगहरूलाई महसुलको पहिलो किस्ता तत्काल बुझाउन निर्देशन दिएको थियो। तर चेतावनीका बावजूद पनि उद्योगहरूले किस्ता नतिरेपछि प्राधिकरणले कडा कदम चालेको हो। ढकालका अनुसार, हाल विवाद रहेका १४ उद्योगले पहिलो किस्ता बुझाएका छन् भने डाबर नेपाल र सुदूरपश्चिम हवाई कार्यालयको लाइन धरौटी रकम पर्याप्त भएकाले काटिएको छैन।

त्यस्तै, अरिहन्त मल्टिफाइबर, रघुपति जुट मिल, बाबा जुट मिल, युनाइटेड सिमेन्ट, मारुती सिमेन्ट र पोलिप्याक्स उद्योग अदालत गएका कारण तिनको लाइन अदालतको आदेशअनुसार जोगिएको छ। प्राधिकरण सञ्चालक समिति बैठकले असोज १० गते विवादित महसुल उठाउने निर्णय गरेको थियो। त्यसपछि उद्योगहरूलाई असोज २ गतेसम्म समय दिइए पनि उनीहरूले महसुल दर अन्यायपूर्ण भएको दाबी गर्दै नतिर्ने अडान लिएका थिए।

यससँगै ट्रंक तथा डेडिकेटेड लाइनसम्बन्धी विवाद झन् पेचिलो बनेको छ। प्राधिकरण महसुल असुलीमा कठोर बन्दै जाँदा उद्योग क्षेत्रले सरकारमाथि दवाव बढाउने संकेत दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *