काठमाडौं। डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम बुझाउने अन्तिम दिन आज सकिँदै छ। नेपाल विद्युत प्राधिकरणले उद्योगीहरूलाई बेलुकासम्म किस्ता बुझाउन नगरे लाइन काट्नेसम्मको चेतावनी दिएको छ।
उद्योगीहरूले बक्यौता तिर्नका लागि प्राधिकरणले २८ महिनाको किस्ताबन्दी सुविधा दिएको थियो। यसअघि १२ असोजमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सबै प्रशासकीय पुनरवलोकन काम खारेज गरी १७ कात्तिकभित्र बक्यौता बुझाउन सूचना जारी गरेको थियो। त्यसपछि १३ असोजमा सूचना संशोधन गरी २ कात्तिकभित्र भुक्तानी गर्न भनेको थियो।
हालसम्म ९ वटा उद्योगले मात्र किस्ता बुझाएका छन्। प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार हामा आइरन एण्ड स्टीलले पहिलो किस्ता बापत २० लाख ९० हजार, लक्ष्मी स्टीलले ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले ४० लाख, हुलास स्टीलले ५० लाख ४३ हजार र अशोक स्टीलले ६३ लाख रुपैयाँ बुझाएको छ।
त्यसैगरी, रोल्पा सिमेन्टले पाँच किस्ता बराबरको १७ लाख ७० हजार, सम्राट सिमेन्टले ४० लाख ४७ हजार, नवनेपाल प्लाष्टिक उद्योगले १ लाख २३ हजार र शुभश्री अग्नी सिमेन्टले ३ लाख ५५ हजार रुपैयाँ बुझाएका छन्। यी उद्योगबाट कुल ३ करोड २२ लाख रुपैयाँ बक्यौता उठेको प्राधिकरणले जनाएको छ।
केही उद्योगीले भने समस्या समाधानका लागि प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर ध्यानाकर्षण पत्र पनि बुझाएका छन्।




