काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई तत्काल उपचार सुनिश्चित गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका संघीय अस्पतालहरूलाई निःशुल्क उपचार गर्न निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलका अनुसार, आन्दोलनका क्रममा घाइते भई अस्पताल पुर्याइएका व्यक्तिहरूलाई कुनै पनि शुल्क नलिई आवश्यक उपचार सेवा उपलब्ध गराइनेछ।
यससँगै, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आदेश दिएको छ। विशेषगरी उपत्यकाभित्र र बाहिर आकस्मिक अवस्थामा एम्बुलेन्स सहजै उपलब्ध हुने व्यवस्था मिलाउन मन्त्रालयले स्वास्थ्य संस्थाहरूसँग आग्रह गरेको छ। यसबाहेक, अस्पतालहरूबीच रिफरल प्रणालीलाई व्यवस्थित बनाउन र घाइतेलाई छिटो उपचारमा लैजान सहयोग गर्न पनि मन्त्रालयले निर्देशन जारी गरेको छ।




