काठमाडौं । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले हालै बालुवाटारमा मन्त्री हेरफेरबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री फेर्ने निर्णय लिएको भन्ने चर्चालाई खण्डन गर्दै उनले यस्तो विषय बैठकमा कहिल्यै उठेको छैन भने।
“न मन्त्री फेरिने एजेन्डा थियो, न प्रधानमन्त्रीको मुखबाट त्यस्तो कुरा आयो,” खड्काले बताएका छन्। उनका अनुसार हालसम्म प्रधानमन्त्री ओलीले सरकारलाई प्रभावकारी बनाउनमात्र मन्त्रीहरूलाई सक्रिय हुन आग्रह गर्ने गरेका छन्।
सरकारले एक वर्षमा जनअपेक्षा अनुसार काम गर्न नसकेको, मन्त्रीहरू विवादमा पर्ने, र केही फेरबदलका चर्चा भइरहेकै बेला यस्तो प्रतिक्रिया आएको हो। तर खड्काले भने यी सबै हल्ला मात्र भएको दोहोर्याए।
खड्काका अनुसार हालैको बैठकमा मुख्यतः सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो — बजेट कार्यान्वयन, संघ(प्रदेश समन्वय, शान्ति प्रक्रिया टुंग्याउने पहल र संविधान संशोधनका तयारीमा केन्द्रित छलफलहरू भए।
बागमती प्रदेशमा कांग्रेस नेतृत्व परिवर्तनका प्रयासबारे पनि बैठकमा छलफल भएको उनले बताए। एमालेको सहयोगप्रति आभार प्रकट गर्दै कांग्रेसले आन्तरिक विवाद छिटै मिलाउने आश्वासन दिएको बताइयो। मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा प्रक्रिया बारे खड्काले “शुक्रबारसम्म टुंगोमा पुग्ने आशा गरिएको” बताएका छन्।




