देश

गिरिजाको हिम्मत र लडाइँले नै गणतन्त्र सम्भव भयो : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोईराला नभएको भए नेपालमा संघीय गणतन्त्र नआउने बताएका छन् ।

शनिवार काठमाडौंमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कोईराला र आफूबिचमा झगडा पनि भएको र पार्टीबाट आफूलाई निकालेपछि नयाँ पार्टी खोलेको पनि बताए । पार्टीबाट निकालेपछि र प्रधानमन्त्री खोसेपछि आफूले गिरिजा र तत्कालीन राजा ज्ञानेन्द्रलाई गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भन्ने गरेको बताए ।

 

स्व। कोईराला लडाकु व्यक्ति भएको स्मरण गर्दै गिरिजाप्रसाद कोईराला नभएको भए गणतन्त्र ल्याउन कसैले पनि सोच्न नसक्ने स्थिति रहेको बताए । गणतन्त्र ल्याउने पहिलो श्रेय गिरिजाप्रसाद कोइरालालाई जाने बताए ।

सभापति देउवाले भने ‘स्व. गिरिजाबाबु र मेरो बीचमा झगडा पनि भएकै हो । सबैलाई थाहा छ । उहाँले पार्टीबाट निकालिदिनु भयो । मैले अर्को पार्टी खोलेँ फेरि । त्यसकारण अनि मैले एक पटक के भनेको थिएँ भने राजाले मलाई खोस्यो, अनि मैले गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भनेको थिएँ । एउटाले पार्टीबाट निकाल्यो, अर्कोले प्रधानमन्त्रीबाट निकाल्यो भनेर त्यस्तो हाम्रो सम्बन्ध हो । राजाले शाही आयोग गठन गरेर मलाई जेल हाल्यो । शाही आयोग मान्दै मान्दिन भनेर मैले बढो डन्जरले भनेँ । मुद्दा हाले पनि सर्वोच्चबाट जितिहालेँ म । थुनेपछि भेट्न आउनुभएको थियो, गिरिजाबाबु ।

पार्टीमा एक भएर काम गयौँ । गिरिजाबाबु धेरै लडाकु व्यक्ति हो । उहाँ नभएको भए आज गणतन्त्र आउने थिएन । त्यस्तो आँटिलो व्यक्ति हो । हिम्मतिलो व्यक्ति हो । गणतन्त्र ल्याउन भनेर सोच्नै सक्दैन थिए । उहाँले हिम्मत गर्नुभएकै हो । अरु पार्टीसँग सरसल्लाह गरेर, पहिलो संविधान सभाबाट संविधान बनेन तर गणतन्त्र पहिलो संविधान सभाको पहिलो दिनमै पास भयो । गणतन्त्र ल्याउने सच्चा मानेमा भन्ने हो भने गिरिजाप्रसादलाई जान्छ श्रेय । उहाँले गणतन्त्र ल्याउनुभएको हो ।’

सभापति देउवाले नेपालको इतिहासमा गणतन्त्र स्थापनाका लागि हिम्मत गर्ने र त्यसका लागि लडेर जनमत सिर्जना गर्नसक्ने व्यक्ति गिरिजाप्रसाद कोईराला भएको बताए । गिरिजाप्रसाद कोईराला नभएको भए संघीयता पनि नआउने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *