काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी आन्तरिक संकटको दलदलमा अझ गहिरिँदै छ। पार्टी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालको विरुद्ध दिएको खुला र तीव्र अभिव्यक्तिपछि नेतृत्वमाथि प्रश्न मात्रै उठेको छैन, पार्टीभित्रको असन्तुष्टि र सत्ता संघर्ष सतहमा आएको छ।
समाजवादीले पार्टीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । तीन दिनभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधिएको पार्टी सचिव सोमप्रसाद पाण्डेले जानकारी दिए । गत शनिबार झाँक्रीले नेतृत्व पुनर्गठनको माग राख्दै पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाल जोडिएकाले पार्टी पुनर्गठनको प्रस्ताव अगाडि बढाउनुपर्ने माग राख्दै अध्यक्ष नेपाललाई मरेको सिनोको संकेत गरेकी थिइन् । त्यसपछि उनलाई पार्टीले स्पष्टिकरण सोधेकाे हाे ।
झाँक्रीले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालको संलग्नता औंल्याउँदै मरेको सिनो काँधमा बोकेर हिँड्न सकिन्न भन्ने कटाक्षसहित नेतृत्व परिवर्तनको माग गरेपछि पार्टी अनुशासन आयोगले उनलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनेको छ। तर यो एउटा साधारण ‘शब्द चित्त नबुझेको’ विषय होइन — यो समग्रतामा पार्टीको बिँडभाँड र अविश्वासको गहिरो लक्षण हो।
झाँक्रीको अभिव्यक्ति आक्रोशपूर्ण थियो, तर त्यो आक्रोश केवल व्यक्तिगत थिएन। उनले नेतृत्वप्रति देखिएको असन्तुष्टि, नैतिकता विहीनता र सत्तामा टाँसिन चाहने प्रवृत्तिको खुलेआम विरोध गरिन्। अर्ली महाधिवेशनको माग राख्नु, र भ्रष्टाचार मुद्दामा मुछिएका अध्यक्षमाथि सार्वजनिक रूपमा नैतिकताको प्रश्न उठाउनु पार्टीभित्र साहसिक कदम हो कि अनुशासन उल्लंघन — त्यो अबको निर्णयले बताउनेछ।
झाँक्री नेतृत्वमा रहेको विद्यार्थी संगठन अनेरास्ववियु भित्रै पनि असन्तुष्टि चुलिएको छ। नरेश न्यौपाने नेतृत्वमा नयाँ समानान्तर कमिटी बनाइएपछि संगठन दुई टुक्रा भएको छ। यो घटनाले पार्टीभित्र केवल वैचारिक मतभेद होइन, शक्ति संघर्ष गहिरिएको पुष्टि गर्छ।
पार्टीभित्र अनेक कोणबाट अध्यक्ष माधव नेपालमाथि राजीनामाको दबाब बढ्दैछ। संसद पद निलम्बन भएको अवस्थामा समेत नेता पद नत्याग्ने उनको अडान, आलोचकहरूको आँखामा नैतिक ढिलास को रूपमा देखिएको छ। वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नै स्पष्ट भनेका छन् “दलको नेता म स्वतः हुने अवस्था छ।”
झाँक्रीको अभिव्यक्ति कति मर्यादित थियो भन्ने बहसको विषय हुन सक्छ, तर उनले उठाएका मुद्दा केवल एक व्यक्तिको नाफानक्सानसँग जोडिएको छैन — त्यो सिंगो पार्टीको दिशाहीनता र अविश्वासको झल्को हो। पार्टीले यदि अब पनि असहमत स्वरहरूलाई स्पष्टीकरण र कारबाहीको घेराभित्र मात्र राख्ने हो भने, त्यो सत्तामा टाँसिन खोज्ने नेताहरूको क्लब बन्छ — वैचारिक संगठन होइन। यसैले अब प्रश्न नेतृत्व परिवर्तनको मात्र होइन, दलभित्र लोकतान्त्रिक अभ्यास बचाउने कि गलाउने भन्नेमा केन्द्रित हुँदै गएको छ।




