काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेकपा (एमाले) मा औपचारिक रूपमा फर्किने घोषणा गर्न तयारीमा छिन्। उनी राष्ट्रिय सभागृहमा मदन भण्डारी फाउन्डेसनले आयोजना गर्ने मदन स्मृति दिवसको कार्यक्रममार्फत पार्टीमा पुनः सक्रिय राजनीति सुरु गर्ने बताइएको छ।
भण्डारीको पुनरागमनलाई एमालेभित्रको आन्तरिक शक्ति सन्तुलनका हिसाबले अर्थपूर्ण मानिएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्ट समर्थनविना नै भइरहेको यो तयारीले एमालेभित्र गहिरिँदो ध्रुवीकरण संकेत गरेको विश्लेषण गरिँदैछ।
एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति भण्डारी शनिबारको कार्यक्रममा एमालेमा सक्रिय राजनीतिमा फर्किने औपचारिक घोषणा गर्ने तयारीमा रहेको जानकारी दिएका छन्।
भण्डारी, दिवंगत नेता मदन भण्डारीकी पत्नी तथा पूर्वप्रधानमन्त्री ओलीकी नजिककी सहयोगीका रूपमा चिनिएकी थिइन्। उनी ओलीकै समर्थनमा दुई कार्यकालसम्म राष्ट्रपतिको जिम्मेवारीमा रहिएकी थिइन्।
यद्यपि, भण्डारीको पुनरागमनबारे एमालेभित्र केही मतभेद पनि देखिएको छ। हालै सम्पन्न ५३औं सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले गणतन्त्रप्रति विश्वास कमजोर हुने भन्दै पूर्वराष्ट्रपतिलाई पुनः पार्टी सदस्य नबनाउने विधान संशोधन प्रस्ताव राखेका थिए। तर, बैठकमा त्यो प्रस्तावले समर्थन नपाएपछि अघि बढ्न सकेको छैन।
भण्डारी पक्षधर नेताहरूले संविधान र पार्टी विधानअनुसार उनको सक्रियतामा कुनै अवरोध नरहेको जिकिर गरेका छन्। शनिबारको कार्यक्रममा प्रधानमन्त्री ओली पनि सहभागी हुने कार्यक्रम तय भए पनि उनी त्यसै दिन स्पेन प्रस्थान गर्ने तयारीमा रहेकाले छोटो सम्बोधनपछि कार्यक्रम छाड्ने तयारीमा छन्।
भण्डारीको पुनरागमनले एमालेभित्र नयाँ शक्ति सन्तुलन र राजनीतिक समीकरण निर्माणमा प्रभाव पार्ने विश्लेषण गरिएको छ।




