देश

पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, अख्तियारको तर्फबाट सुशील पन्त बहसमा

काठमाडौं । भ्रष्टाचार मुद्दामा विशेष अदालतमा बयान दिइरहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पक्षमा एक सयभन्दा बढी कानुन व्यवसायीले वकालतनामा दर्ता गरेका छन्। अदालतमा बयान सकिएपछि थुनछेक बहस हुने तयारी भइरहेको छ।

नेपालको पक्षमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द बन्दी, कृष्णप्रसाद भण्डारी, रमणकुमार श्रेष्ठ, सविता भण्डारीलगायत कानुन व्यवसायीहरूको टोली तयार छ। वकालतनामामा अझै वकिलहरू सहभागी भइरहेका छन् । त्यस्तै, अख्तियारको तर्फबाट विशेष सरकारी वकिल मोहन सागर बश्यालको नेतृत्वमा सरकारी वकिलहरूको टोली बहसमा सहभागी हुनेछ भने, वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि अख्तियारको प्रतिनिधित्व गर्दै वकालत गर्नेछन्।

अदालतले दुवै पक्षका सबै वकिललाई बहसमा सहभागी हुन अनुमति नदिई, सीमित अधिवक्तालाई मात्र समय दिइने जनाएको छ। संक्षिप्त तर गम्भीर बहसमा निष्कर्ष निकाल्ने तयारी भइरहेको छ। यस मुद्दामा अख्तियारको आरोप छ कि पूर्वप्रधानमन्त्री नेपालले पतञ्जलि समूहलाई सरकारी जग्गा सुलभ रूपमा दिलाउन कर्मचारीहरूलाई नीतिगत दबाब दिएका थिए। नेपाल पक्ष भने यो मुद्दा राजनीतिक प्रतिशोध हो भन्दै कानुनी प्रतिवादमा जुटेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *