अर्थ

तरकारीले पाएन मूल्य, कृषक भन्छन्- मजदुरलाई दिने पैसा पनि उठेन

चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेपछि यहाँका किसानहरू चिन्तित बनेका हुन् ।

विगत २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएकी भरतपुर महानगरपालिका–२५ बुद्धिचोककी लक्ष्मी रानाभाट अहिले बोडी, काँक्रो, चिचिन्डा, करेलालगायतका तरकारीले उचित मूल्य पाउन नसकेको बताइन् । उनले भनिन्, ‘अधिकांश तरकारी प्रतिकिलो रु पाँचमा बेच्न बाध्य छौँ ।’

बाह्र विगाह क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी उनीतरकारीले उचित मूल्य नपाउँदा आफूलगायतका किसान मारमा परेको बताइन् । उनका अनुसार अहिले किसानले तरकारी बारीमै छाड्न बाध्य भएका छन् । मजदुरलाई दिने पैसा समेत उठ्न नसकेको उनको भनाइ छ ।

यस्तै गुनासो किसान सुमिना थापाको पनि छ । उनले २ विगाह क्षेत्रफलमा तरकारीखेती गर्दै आएकी छन् । उनको बारीमा अहिले तने बोडी, काँक्रा चिचिन्डा जस्ता तरकारी लगाउँदै आएकी छन् ।

उनले अहिले १० कठ्ठा जग्गामा लगाएको बोडी टिपेर मूल्य नपाए पछि त्यतीकै राखेकी छन् । उनले भनिन्, ‘तरकारीले मूल्य पाउन सकेन बिचौलीया मोटाएको देखियो ।’ किसान र उपभोक्ताबीचको मूल्यको अन्तर ठूलो भएपछि किसानहरुले तरकारी बिक्री गर्न सकेका छैनन् ।

उनका अनुसार लागत मूल्य समेत नपाउने भएकाले किसानले मजदुर लगाएर तरकारी टिप्न पनि छाडेका छन् । तरकारीले उचित मूल्य नपाएपछि किसान सङ्घर्ष समिति बनाएर प्रदर्शन गर्ने तयारीमा किसानहरू रहेको सङ्घर्ष समितिका संयोजक ईश्वरी न्यौपानेले बताइन् ।

न्यौपानेले भनिन्, ‘किसानसँग प्रतिकेजी ५ देखि १० रुपैयाँमा किनेर उपभोक्ताहरुकोमा पुग्दा ७० देखि ८० रुपैयाँमा बिक्री हुने गरेको छ ।’

आफूहरूले बजारमा उपभोक्ता मूल्य समेत बुझेको बताउँदै उनले अब किसानले बजारमा तरकारी नपाउनेसम्मका काम गर्ने तयारीमा रहेको बताइन् । बिउ, मल, बिषादी, जनशक्ति, सिंचाई, ढुवानीको लागत मूल्य समेत उठ्न नसकेको उनले बताइन्।

राज्यले तरकारीको न्यूनतम समर्थन मूल्य तोक्न समेत उनले आग्रह गरिन् । आयातित तरकारीले बजार पाउँदा यहाँ उत्पादित तरकारीले मूल्य पाउन नसकेको उनको भनाइ छ । यहाँ तरकारी चिस्यान केन्द्र स्थापना गर्न सके उत्पादित तरकारीले मूल्य पाउन सक्ने उनले जानकारी दिइन् ।

राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई चितवनका अनुसार अहिले जिल्लामा तरकारी जोनका रुपमा ७७० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिँदै आइएको छ । जहाँ एक हजार कृषक सहभागी भएका छन् । अहिले बजार मूल्य नपाउँदा किसानहरू चिन्तित बनेको इकाईका प्रमुख महेश रेग्मीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *