विश्व

अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह

अमेरिकाले जफत गरेको इरानको व्यापारिक जहाज तत्काल बिना शर्त रिहा गर्न अमेरिकालाई दबाब दिन संयुक्त राष्ट्रसङ्घका लागि इरानका दूत अमिर सइद इरवानीले राष्ट्रसङ्घलाई आग्रह गर्नु भएको छ ।

इरवानीले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र सुरक्षा परिषद्का अध्यक्षलाई पठाएको पत्रमा इरानका व्यापारिक जहाज जफत गरी अमेरिकाले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको उल्लेख गर्दै घटनाबारे चिन्ता व्यक्त गर्नु भएको छ ।

इरवानीले जहाज जफतको घटनाको विस्तृत विवरण दिँदै अमेरिकी सेनाले इरानको तट नजिकै ओमानको सागरमा जहाज कब्जा गरेको पुष्टि गर्नु भएको भएको छ ।

जबरजस्ती जहाज आक्रमणले र धम्कीले जहाजका चालक दल र उनीहरूका परिवारको जिवन खतरामा परेको उहाँले उल्लेख गर्नु भएको छ ।

कानुनी र सुरक्षा चिन्ता व्यक्त पार्दै उहाँले यस्तो आचरण समुद्री डकैतीको रुप भएको र यसले ढुवानी मार्गहरूको सुरक्षामा गम्भीर खतरा उत्पन्न हुने बताउनु भएको छ ।

इरवानीले जहाज जफत संयुक्त राष्ट्रसङ्घ प्रस्ताव विपरीत हुनुका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको युद्धविरामको उल्लङ्घन गरी भएको जनाइएको छ ।

यो कार्यले क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति सुरक्षाका लागि गम्भीर खतरा खडा गर्नुका साथै युद्वले नाजुक भएको अवस्थालाई अझै अस्थिर बनाएको उहाँले उल्लेख गर्नु भएको छ ।

इरवानीले संयुक्त राष्ट्र सङ्घलाई आक्रमण र जहाज जफतको निन्दा गरी अमेरिकालाई जवाफदेही बनाएर जहाज र जहाजमा रहेका सबैलाई विनासर्त रिहा गर्न दबाब दिन आग्रह गर्नु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *